अत्तरिया – कैलालीको अत्तरियामा महोत्सवको जग बसाएको सृजनशील युवा क्लबले १० वर्ष पछि पुन महोत्सव आयोजना गर्ने घोषणा गरेको छ । अत्तरियामा २०६६ सालदेखि महोत्सव आयोजना गर्दै आएको क्लबले २०७२ सालपछि अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भनेपछि ब्याक भएकोमा पुनः यो वर्ष महोत्सव आयोजना गर्न अघि बढेको हो ।
अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ संस्करणको महोत्सवमा नक्कली टिकट ठेली फेला परेर भएको विवाद पछि महोत्सव आयोजना गर्न नसकेपछि गत वर्ष अत्तरियामा महोत्सव नै आयोजना भएको थिएन । अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० मा नक्कली टिकट ठेली फेला परेको थियो । नक्कली टिकट ठेलीको विवादकै बिच संघका आधा बढी पदाधिकारीले राजीनामा दिएपछि गत वर्ष पनि अत्तरियामा महोत्सव हुन सकेको थिएन ।

अहिले पनि लथालिङ्ग अवस्थामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने छाटकाट नदेखिएपछि यस वर्ष सृजनशील युवा क्लबले महोत्सव आयोजना गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका अध्यक्ष नर बहादुर राईले आफूहरूले २०६६ सालदेखि गर्दै आएको महोत्सवलाई निरन्तरता दिँदै यस वर्ष पुनः महोत्सव आयोजना गर्न लागिएको बताए ।
‘हामीले २०६६ सालदेखि नै महोत्सव आयोजना गर्दै आएका थियौ । ४/५ पटक महोत्सव आयोजना गरिसकेपछि व्यवसायीक तरिकाले महोत्सव आयोजना गर्नुपर्छ भनेर हामीले उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका थियौ’ उनले भने ‘वहाँहरूले पनि सञ्चालन गर्दै आउनुभएको थियो । अहिले बिचमा आएर महोत्सव ब्रेक भएपछि हामीले यसलाई निरन्तरता दिनका लागि पुनः सुरु गर्न लागेका छौ ।’ उनले महोत्सव पुस ९ गते देखि १९ गते सम्म सञ्चालन गरिने बताए ।
उनले महोत्सवको नाम भने सृजनशील गोदावरी सांस्कृतिक महोत्सव नामकरण गरिएको बताए । ‘समस्त गोदावरी, यहाँका धार्मिक पर्यटकीय स्थललाई समेट्ने गरी महोत्सवको नामकरण गरेका छौ’ उनले भने ‘महोत्सवको ५० प्रतिशत तयारी पुरा भइसकेको छ ।’


उनले अत्तरिया उद्योग वाणिज्य संघलाई बाइपास गरेर महोत्सव आयोजना नगरिएको बताए । ‘हाम्रो कसैलाई बाइपास गर्ने उद्देश्य होइन । हामी कसैलाई बाइपास गर्न पनि चाहनौँ’ उनले भने ‘सबैसँग कोडिनेसन गरेर नै हामी अगाडि बढेका हौ । महोत्सवको विषयमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष ज्यू सँग पनि अनौपचारिक कुरा भएको थियो । वहाँले हामी सक्दैनौ तर, हामीलाई पनि समेट्नुहोला भन्नुभएको छ ।’
उनले महोत्सवमा २ सय स्टल राखिने बताए । महोत्सव अत्तरियामै रहेको सुरक्षा सामुदायिक वनको प्राङ्गण अत्तरिया ट्राफिक प्रहरी कार्यालयको अगाडीको मैदानमा हुने जनाइएको छ । महोत्सवमा ५० लाख लगानी लाग्ने आयोजकले जनाएको छ । महोत्सवको टिकट दर १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ हुने छ । महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइने र राष्ट्रिय कलाकारलाई पनि सहभागी गराइने आयोजकले जनाएको छ ।
सृजनशील युवा क्लबले यसअघि अत्तरियामा २०६६ देखि २०७१ साल सम्म महोत्सव आयोजना गरेको थियो । २०७२ सालदेखि भने अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको थियो । संघले आफ्नो आम्दानीको मुख्य श्रोतकै रूपमा महोत्सव आयोजना गर्दै आएको भए पनि नक्कली टिकट ठेली प्रकरण पछि महोत्सवमा ब्रेक लागेको थियो ।
उद्योग वाणिज्य संघले पुस अन्तिम साता महोत्सव आयोजना गर्दै आएकोमा सृजनशील युवा क्लबले भने पुसको दोस्रो साता नै महोत्सव आयोजना गर्न लागेको हो । यसअघि कैलाली उद्योग वाणिज्य संघले धनगढीमा मंसिर २२ गते देखि पुस २ गते सम्म सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।

















