कञ्चनपुर – शुक्लाफाँटाका २ हात्ती उग्र बन्दै गएका छन । एउटा दाह्रा नभएको हात्ती (मकुना) र अर्को पुच्छर नभएको (मत्ता) हात्ती उग्र बन्दै गएका हुन । प्रायः सँगै र समूहबाट अलग हिड्ने यी हात्ती बढी रिसालु र उच्छृंखल छन् । दुवै हात्ती प्रायः बस्ती नजिकैको जंगलमा भेटिन्छन् । साँझ नपर्दै बस्तीमा पस्छन् । घर भत्काउनेदेखि खेतीपाती नोक्सान गर्ने लगायतका गतिविधि गर्दै आएका छन् ।
मंगलबार राती पनि भीमदत्त नगरपालिका १४ बनकट्टीमा महिलाको ज्यान लिने यी दुई मध्येकै पुच्छर नभएको मत्ता हात्ती हो । कच्ची घरसँगै जोडिएको भान्सा भत्काउन थालेपछि ४५ वर्षीया धना विष्ट हेर्नका लागि बाहिर निस्किने बित्तिकै हात्तीले लछारपछार गरेको थियो । त्यसपछि नजिकै रहेको परालको थुप्रोमा लगेर मृत्यु भएपछि मात्रै छाडेको स्थानीय बताउँछन् ।

‘मकुना र पुच्छर नभएको (लिडे) हात्ती निकै उच्छृंखल छन्, तिनको अनुगमन सुरु गरेका छौं,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘दिनमा र राती पनि यी दुई हात्ती कहाँ कहाँ पुग्छन्, सबै अनुगमन भइरहेको छ ।’ उनले समूहबाट छुट्टिएका हात्ती उग्र हुने भएकाले त्यसबाट बस्तीमा समेत जोखिम हुने बताए ।

हात्ती प्रायः समूहमा हिँड्ने वन्यजन्तु हो । समूहमा वृद्धदेखि वयस्क र छावासम्म सबै सँगै हुन्छन् । समूहमा सबैको सुरक्षा गर्नुपर्ने भएकाले त्यति उग्र देखिँदैन । ‘समूहमा भएका हात्तीले जैविक मार्गमै बढी विचरण गर्छन्, त्यसमा केही अवरोध भए हटाउँछ, तर बस्तीमा पसेर धेरै उग्रता देखाउँदैन,’ वाग्लेले भने, ‘समूहबाट अलग्गिएका वा अलग गरिएकाहरू बढी उग्र हुन्छन्, तिनै बस्तीमा पसेर दुःख दिन्छन् ।’ समूहमा अनुशासनहीन भएपछि कारबाहीस्वरूप अलग गरिन्छ ।
वाग्लेका अनुसार मकुना र मत्ता हात्ती दुवै समूहबाट अलग भएका हुन् । तिनको अहिले निकुञ्जले विभिन्न टोली बनाएर अनुगमन सुरु गरेको हो । रेडियोकलर जडान गरेर अनुमगन गर्नका लागि पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरिएको उनले बताए । विभागबाट अनुमति नआउँदासम्म प्राविधिकबाटै अनुगमन गरिनेछ । विभागबाट अनुमति आएमा रेडियोकलर जडान गरेर अनुगमन गरिनेछ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४० बढी रैथाने हात्ती भएको अनुमान गरिएको छ । यद्यपि, हालसम्म हात्तीको अनुगमन तथा गणना भने भएको छैन । सिजनअनुसार भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट पनि ठूलो संख्यामा जंगली हात्ती आउने गरेका छन् । त्यतिबेला हात्तीको बथान बस्तीमा पसेर उपद्रो नै मच्चाउने गरेको छ । धान, गहुँ र उखु लगायतका बालीको नोक्सानीसागै घर भत्काउने र मानिसको ज्यान नै लिनेसम्मका घटना बर्सेनि भइरहेका छन् ।
पछिल्लो समय निकुञ्ज किनारमा वन्यजन्तु रोक्नका लागि विद्युतीय तारबार लगाउनेदेखि ट्रेन्च खन्ने लगायतका गतिविधि भइरहेका छन् । तर यसले पनि दिगो रूपमा काम गर्न नसकेकाले निकुञ्ज किनारका बासिन्दा त्रसित बनेका छन् ।



















