अत्तरिया – कैलालीको गौरीगंगा साझेदारी वन व्यवस्थापन समूह विवादित बनेको छ । क्षेत्रफलका हिसाबले सुदूरपश्चिमकै ठुलो गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका क्षेत्रमा फैलिएको उक्त साझेदारी वनमा आन्तरिक किचलो हुँदा २ पटक बोलाइएको साधारण सभा समेत स्थगित भएको छ ।
वन व्यवस्थापन समूहले कार्तिक २१ र दोस्रो पटक २८ गते बोलाइएको बैठकमा आन्तरिक किचलोका कारण समूहका सदस्य उपस्थित नभएपछि स्थगित भएको हुन ।

गौरीगंगा नगरपालिकाको वडा नं ४, ५, ७, ८ र ९ तथा मोहन्याल गाउँपालिकाको ५ नम्बर वडा कार्यक्षेत्र रहेको समूहमा ५० जना सदस्य रहेकोमा मोहन्यालयका सदस्यले वन नै विभाजन गर्ने माग गरेका छन् ।
अध्यक्षले मनोमानी गरेको भन्दै उनीहरूले मोहन्याल क्षेत्रमा रहेको वन छुटै भोग चलन गर्ने भन्दै गाउँपालिकाले नै वन व्यवस्थापन समूहलाई पत्राचार गरेको थियो ।
८ महिना अघि नै पठाइएको उक्त पत्रमा वन व्यवस्थापन समूहले उद्देश्य अनुसार काम गर्न नसकेको र आन्तरिक विवाद उत्पन्न भइराख्ने, प्राकृतिक स्रोतसाधनको समेत सही सदुपयोग नभएकाले मोहन्यालमा रहेको वन क्षेत्रलाई साझेदारी वनबाट हताउने उल्लेख छ । पत्रमा आफ्नो गाउँपालिकाको वडा नम्बर ५ नम्बर ५ का प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय कार्यपालिका बैठकबाटै निर्णय भएको उल्लेख छ । साथै गाउँपालिकाको वडा नम्बर ५ मा रहेको नवक्षेत्रमा कुनै पनि कामकाज नगर्न समेत पत्रमा भनिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष प्रवीण घर्तिमगरले स्थानीय उपभोक्ताहरूको माग अनुसार कार्यपालिकाबाट निर्णय गरेर पत्र पठाइएको बताए । उनले भने ‘वडाबाट सहभागी हुनुपर्छ भनेर मैले ७ जना प्रतिनिधि पठाएको हो । तर, सालघारी क्षेत्रका जनताको गौरीगंगा साझेदारी वन समूहमा नमिल्ने विरोध र दबाब आएपछि कार्यपालिकाबाटै निर्णय गरेर पत्र पठाइएको हो ।’

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले पनि सालघारीको स्थानीयको माग अनुसार निर्णय गरिएको बताए । ‘सालघारीका स्थानीयले साझेदारीमा मिसिँदैनौ भनेर निर्णय गरेर पठाएपछि हामीले निर्णय गरेका हौ’ उनले भने ‘स्थानीय र हाम्रो भनाई गौरीगंगाको भाग गौरीगंगामै राखेर मोहन्यालको भाग अलग गराउनु पर्छ भन्ने हो ।’ उनले पालिकाले वनमा रहने नरहने निर्णय गर्न पाउने दाबी गरे ।
गौरीगंगा साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष बल बहादुर महताले भने वनमा जोडिने नजोडिने गाउँपालिकाले निर्णय गर्न पाउने भए पनि भूगोल भने नेपाल सरकार मातहतमा भएको हुँदा गाउँपालिको विभाजन गर्न नसक्ने बताए । उनले २ वर्ष अघि मोहन्यालले साझेदारी वनमा बस्ने भन्दै पत्र पठाए पनि पुनः अलग हुने भनेर पत्र पठाएको बताए ।
‘कहिले हामी जोडिन्छौ भनेर पत्र पठाउछन कहिले हामी अलग हुन्छौ भनेर पत्र पठाउछन । उनीहरूले यस्तो तीन पत्र पठाइसकेका छन्’ उनले भने ‘हामीले वनको तर्फबाट आफ्नो वडा जोड्ने नजोड्ने कुरा पालिकाको हातमा हुने भए पनि भूगोलको सवालमा नेपाल सरकार राष्ट्रिय वन मातहत भएको हुँदा भूगोलको सीमा हुँदैन । सीमा छोड्न सक्ने अवस्था हुँदैन ।’
उनले साधारण सभा मोहन्यालले बहिष्कार गरेर नभएर सदस्यहरू कुनै भारत, कुनै काठमाडौँ भएकाले समस्या भएको बताए ।
उनले पुनः मंसिर ५ गतेका लागि तेस्रो पटक साधारण सभा बोलाइएको बताए । उनले तेस्रो पटक बोलाइएको साधारण सभामा ३३ प्रतिशत पुगे पनि कोरम पुगेको मानिने भए पनि आफू ५१ प्रतिशत नपुग्दा सम्म साधारण सभा नगर्ने पक्षमा रहेको बताए ।
दलित भागबन्डामा छनोट गरिएका सदस्यमध्ये १० जना काँग्रेसका सदस्य भने कहिले पन बैठकमा नआउने गरेको उनले बताए । उनले अब पनि यस्तै अवस्था रहेमा विगठनका लागि जिल्लामा सिफारिस गर्ने बताए । त्यसपछि नयाँ ढङ्गले वडा भेला गरेर समिति बनाउन सकिने बताए ।
पटक पटक बोलाइएको साधारण सभा बहुमत सदस्यले बहिस्कार गर्ने गरेकाले अध्यक्ष महताले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग समेत गरिने थालेको छ । गौरीगंगा साझेदारी वनको ३ हजार २० दशमलव ३६ हेक्टर क्षेत्रफल रहेको छ । वनमा ६ हजार ६६५ घरधुरी उपभोक्ता आबद्ध रहेका छन् ।


















