अत्तरिया– सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडाँलको भव्य विदाई गरिएको छ । ४ वर्ष अघि कार्यालय प्रमुख बनेर अत्तरिया आएका कडाँलको कञ्चनपुर सरुवा भएसँगै भव्य विदाई गरिएको हो । सोमबार स्थानियबासी एवम् विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले कडाँललाई फुलमाला, टिका र अबिर सहित बिदाई गरे ।
सव डिभिजन वन कार्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै कडाँलको विदाई गरिएको थियो । कार्यक्रम पश्चात बोल्दै कडाँलले अत्तरियामा आफ्नो बसाई एकदमै सुखद वितेको बताए । उनले सबैको साथ र सहयोगले पछिल्लो समय अत्तरियामा सामुदायिक वन क्षेत्रका राम्रो काम भएको बताए । उनले ४ वर्षको अवधीमा अत्तरिया आसपासका क्षेत्रमा बन फडाँनी, अतिक्रमण लगायतका गतिविधिहरु रोक्न धेरै हदसम्म आफू सफल भएको बताए ।


उनले सव डिभिजन वन कार्यालय अत्तरिया मातहत पर्ने सामुदायिक वनहरुको नविकरण लगायतका कार्यहरु पनि आफ्नो कार्यकालमा भएको बताए । ‘मेरो यो ४ वर्षे कार्यकालमा यहाँका करिब ७० वटा सामुदायिक वनहरु नविकरण भएका छन’ उनले भने ‘१०÷१५ वटा सामुदायिक वन मात्रै एक्टिभ रहेको बेला म आएको थिए, अहिले ६० वटा भन्दा बढी एक्टिभ छन् ।’ त्यसबाहेक सामुदायिक वनहरुले काठ बिक्रिवितरण गर्न पनि सफल भएको उनको भनाई छ ।
अत्तरियाक्षेत्रमा सम्भवतः पहिलो पटक सव डिभिजन वन कार्यालयका प्रमुखको विदाइ गरिएको थियो । कडाँलले आफूले केही राम्रै गरेको हुनाले स्थानियस्तरबाट आफूलाई विदाई गरिएको बताए । उनले आफ्नो कार्यकालमा स्थानियस्तरबाट पाएको सहयोग अविस्मरणीय रहेको बताउदै अत्तरियाक्षेत्रलाई सदैव सम्झीरहने बताए ।



















