अत्तरिया – कुनै समय खानेपानीको हाहाकार हुने ओलानीको अवस्था फेरिएको छ । खानेपानी कै लागि घण्टौँ हिँड्नुपर्ने, कुवाको पानी निकाल्नुपर्ने जस्ता समस्या हटेका छन् । विगतको खानेपानीको समस्या सँग परिचित गोदावरीकी उपमेयर शारदा रोकायाले अहिले ओलानी फेरिएको बताइन् । ‘उति बेला महिला दिदिबहिनीहरुलाई निकै समस्या थियो । खानेपानी बोक्नको लागि नै बिहान ३ बजे नै उठ्नुपथ्र्यो’ ओलानीमा रहेको गोदावरी खानेपानीको पाँचौँ साधारण सभामा बोल्दै उनले भनिन् ‘अहिले यी समस्या हटेका छन् । अब त धेरै घरहरूका चौबिसै घण्टा खानेपानीको धारामा पानी आउने गरेको छ ।’
ओलानीमा अहिले ओभर हेट ट्याङ्की निर्माण गरेर खानेपानी वितरण गरिँदै आएको छ । भूमिगत पानी मोटरबाट तानेर ट्याङ्कीमा भरेर वितरण गरिँदै आएका छ ।
अहिले खानेपानी घरघरमा पुगे पनि चुनौती भने उतिकै रहेको स्थानीय कृष्ण विकले बताए । उनले खानेपानी वितरण भए पनि यसलाई संरक्षण गर्न नसकेमा पुराना दिन फर्किन पनि सक्ने बताए । ‘खानेपानीको उचित व्यवस्थापन हुन नसक्दा धेरै खानेपानी योजना बन्द भएका पनि धेरै उदाहरण छन्’ उनले भने ‘यसको संरक्षणका लागि सबै उपभोक्ता सजक हुन आवश्यक छ । सबैले यसमा अपनोत्व महसुस गर्नुपर्छ ।’


खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रमेश ताम्राकारले खानेपानी समिति सञ्चालनका लागि विद्युत् महसुल तिर्न निकै चुनौती रहेकाले सरकारले यसमा छुट दिनुपर्ने बताए । उनले महासंघले हाल देशव्यापी रूपमा विद्युत् महसुल छुट गर्नका लागि आन्दोलन गरिरहेको बताउँदै अहिलेको सरकारले यो माग सुन्छ भन्ने अपेक्षा रहेको बताए ।
गोदावरी नगरपालिका ११ का पूर्व अध्यक्ष शिव विकले खानेपानी नभएकाले ओलानीमा छोरी दिन नमान्ने अवस्था रहेकोमा अहिले त्यो अवस्था परिवर्तन भएको बताए । उनले अहिले पनि केही ठाउँमा चौबिसै घण्टा पानी वितरण हुन बाँकी रहेको बताउँदै आगामी दिनमा थप काम गर्न आवश्यक रहेको बताए ।
गोदावरी नगरपालिका ११ का अध्यक्ष प्रेम सिंह बडैलाले वडामा ४ वटा खानेपानी भएको बताउँदै वडाले पनि सकेसम्म खानेपानी संस्थालाई सहयोग गरिरहेको बताए । उनले खानेपानी जस्ता ठाउँमा राजनीति नगरी काम गर्न आवश्यक रहेको बताए ।
गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्ण विकले घरघरमा खानेपानी पुगेपछि जनजीवनमा सहजता ल्याएको बताए । उनले शुद्ध खानेपानीको वितरणले पानीजन्य रोगहरूको जोखिमलाई समेत न्यूनीकरण गरेको बताए ।
सम्बन्धित समाचार : गोदावरी खानेपानीको साधारण सभा सम्पन्न

















