काठमाडौं – दार्चुलाको अपिहिमाल गाउँपालिकामा हाई अल्टिच्युड एड्भेन्चर टुरिजम क्रिकेट रंगशाला बन्ने भएको छ । बिहीबार गाउँपालिकाले रंगशाला निर्माणका निम्ति सात करोड रुपैयाँको टेन्डर खुलाएको हो ।

गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सामाजिक सञ्जाल फेसबुकमा उक्त विवरण सार्वजनिक गरेका छन् । गाउँपालिकाले टेन्डरमा परियोजनाको नाम ‘हाई अल्टिच्युड एड्भेन्चर टुरिजम रंगशाला निर्माण कार्य’ राखेको छ ।

टेन्डरको अन्तिम मिति आगामी मंसिर २८ गते तोकेको छ । टेन्डरको निम्ति निर्माण कम्पनीहरूले अनलाइनमार्फत सहभागिता जनाउन सक्नेछन् । रंगशालाको निर्माणले खेलकुद गतिविधि बढ्नुका साथै आर्थिक, पर्यटन विकास र स्थानीयहरूको जीविकोपार्जन गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

















