काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ओटीटी (OTT) प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । पहिलो संस्करण युट्युबबाट प्रत्यक्ष प्रसारण भएकोमा दोस्रो संस्करणलाई ओटीटीमा शुल्क तिरेर हेर्नुपर्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले गरेको बोलपत्रमा भाग लिएर डिशहोमले प्रसारण अधिकार पाएको छ । डिशहोमको ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ मार्फत भारतबाहेकका सबै मुलुकमा एनपीएलको प्रत्यक्ष प्रसारण हुनेछ ।

ओटीटीमा एनपीएलको प्रत्यक्ष प्रसारणका लागि क्यानले १५ दिनअघि बोलपत्र आह्वान गरेको थियो । त्यसमा कति आवेदन परे भनेर खुलाइएको छैन । क्यानले इच्छुक कम्पनीहरूका लागि विभिन्न शर्तहरू राखेको थियो । इच्छुक कम्पनीले पछिल्ला तीन वर्षमा वार्षिक औसत तीन करोड रुपैयाँ वा सोभन्दा बढीको कारोबार गरेको हुनुपर्ने, ओटीटी प्रसारणको इजाजतपत्र रहेको हुनुपर्ने, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको प्रत्यक्ष प्रसारण गरेको अनुभव हुनुपर्ने लगायतका शर्तहरू थिए ।

ओटीटीले दर्शकबाट उठाउनसक्ने अधिकतम शुल्क पनि क्यानले तोकिदिएको छ । जसअनुसार नेपालका दर्शकले ३०० रुपैयाँ, मध्यपूर्वका देशहरूमा ५०० रुपैयाँ र अन्य देशका लागि १० अमेरिकी डलर शुल्क तोकिएको छ । एप र वेबसाइटबाट लाइभ खेल विज्ञापनरहित हुने डिशहोमले जनाएको छ ।
डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गरी विश्वभरबाट सब्सक्रिप्शन लिन सक्नेछन् । साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् भने आईओएस (iOS) प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमा लाइभ हुने कम्पनीले जनाएको छ ।
उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रसारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स (Mobiotics) र अकामाई (Akamai) सँग प्राविधिक सहकार्य गरेको छ । मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न सकिने गरी अनलाइन प्रसारण प्रणाली (OTT) निर्माण गर्ने कम्पनी हो । यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा बङ्गलादेश र भारतबीचको खेल एकैपटक २३ लाखभन्दा बढी बङ्गलादेशी दर्शकले सहज रूपमा हेरेका थिए ।
त्यस्तै, अकामाई (Akamai) विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएलको डिजिटल प्रसारणका लागि ‘हटस्टार’ सँग सहकार्य गर्दै आएको छ । अकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउनु हो । यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोधरहित सञ्चालनलाई सुनिश्चित गर्छ ।


















