अछाम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र पछिल्लो समय मानवीय संवेदना हराउँदै गएको बताएका छन ।

बुधबार नेपाली कांग्रेस अछामले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले मानवसेवामूलक भावना रहेको नेपाली कांग्रेसभित्र पछिल्लो समय मानवीय संवेदना हराउँदै गएको बताएका हुन । उनले भने ‘जेन्जी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवा माथि साँघातिक आक्रमण हुँदा पनि पार्टीको कार्यसम्पादन बैठकमा न सहानुभूति प्रकट गरियो, न त उहाँको शीघ्र स्वास्थ्यलाभको कामना नै गरियो। पार्टी सभापति माथिको आक्रमणप्रति दुःख प्रकट गर्न नसक्नु के हामी मानवीयता हराइसकेका हौँ त ?’

मुख्यमन्त्री शाहले हस्ताक्षर अभियान चलाएर नेतृत्वमा पुग्न खोज्ने प्रवृत्ति प्रति पनि संकेत गर्दै, पार्टी नेतृत्व जनताको जनमत र कांग्रेसको आन्तरिक जनमतबाट आउनुपर्ने बताए ।
उनले पार्टीले अब ढिलाइ नगरी महासमिति बैठक आह्वान गरी सैद्धान्तिक र वैचारिक बहसमार्फत नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण तय गर्नुपर्नेमा जोड दिए ।


















