अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० खमौराका शेरबहादुर चौधरीको हत्या आरोपित एक जनालाई जिल्ला अदालत कैलालीले सफाइ दिएपछि उच्च अदालत जाने तयारी गरिएको छ । असोज २३ गते राती २ बजे स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले लखेटेर मारेको भन्दै आफन्तले किटानी जाहेरी दिए पनि विकास मल्ललाई अदालतले सफाइ दिएपछि उच्च अदालत जाने तयारी गरिएको हो ।
मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते मृत फेला परेका थिए । आफन्तले राती लखेटेर मारेको भन्दै दुवै जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।


इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरीपछि प्रहरीले जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरेको थियो । अदालतले लक्की मल्ललाई पुर्पक्षका लागि काराकार चलान गरे पनि विकास मल्ललाई भने सामान्य तारेखमा रिहा गरेको थियो । विकासलाई छोडिएपछि आक्रोशित शेरबहादुरका आफन्त अहिले आन्दोलित बनेका छन् । उनीहरूले बिहीबार इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका थिए ।

शेरबहादुरको न्यायका लागि गठित सङ्घर्ष समितिका संयोजक बाबु राम चौधरीले सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा गर्दा गर्ने आश्वासन दिएपछि तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए । ‘घटनाको दिन सँगै रहेका दुवै जना मध्ये एक जनालाई कसरी छोडियो भन्ने हामी छक्क परेका छौ’ उनले भने ‘सरकारी वकिलेले पनि एक जनालाई सफाइ दिइएपछि अवहेलना भएको महसुस गर्नु भएको रहेछ । हामी उच्च अदालत जान्छौ भन्नुभएको छ ।’ उनले उच्च अदालतबाट पनि न्याय नपाए विरोधका कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले सरकारवादी मुद्दा भएकाले जिल्ला अदालतबाट आएको आदेशमा चित्त नबुझे पुनरावेदन गर्न सकिने बताए । उनले पीडित पक्ष र सरकारी वकिलको कार्यालयमा भएको छलफलमा पुनरावेदन मुद्दा दर्ता गर्ने मौखिक सहमति भएको बताए ।

सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता भानु चौधरीले सरकारवादी मुद्दा भएकाले मुद्दा उच्च अदालत जाने बताए । उनले पीडितले नभने पनि यस्तो प्रकृतिको घटनामा सरकारी वकिलले आफै पनि उच्च अदालत जानुपर्ने बताए । एउटै मुद्दामा एक जनालाई भित्र राख्ने एक जनालाई छोडियो भने यसमा चित्त नबुझेकाले उच्च अदालत जान मिल्ने उनले बताए । उनले पुनरावेदन भने अन्तिम फैसला आएपछि मात्रै जान मिल्ने बताए । उनले अहिले आदेश मात्रै गरिएकाले उच्च अदालत जान सकिने बताए ।
असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागका शेर बहादुरको भने असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो । उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो । त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की मल्ल र विकास मल्लले शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका थिए ।














