अछाम – जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको छ । जसका कारण उक्त कार्यालयले योजना अनुगमनसहित नियमति काम गर्न पाएको छैन । कार्यालयमा कार्यरत तीन जना करार कर्मचारीलाई अवकाशमा पठाएपछि विरोधमा ताला लगाइएको हो । उनीहरूले साउनदेखि पारिश्रम नपाएको र म्याद थप नगरको भन्दै कार्यालयमा तालाबन्दी गरेका थिए ।

कार्यालयमा कार्यरत विक्रम भुल, पुष्पराज भाट र खेम केसीले आफ्नो माग सम्बोधन नभएको भन्दै तालाबन्दी गरेका थिए । करारका कर्मचारी राख्ने या हटाउने भन्ने कुरामा जिल्ला समुन्वय समितिको बैठकमा मत बाझिएको थियो । समन्वय प्रमुख ललित बहादुर कुँवरले करारका कर्मचारीलाई हटाएर मितव्ययी हुनुपर्ने बताउँदै आएका थिए । तर त्यही विवाद बढ्दा कार्यालयमा निरन्तर ताला भएको हो ।


समन्वय समितिको कार्यालयले करारका कर्मचारीलाई म्याद नथपेको विषयले विवाद बढाएपछि असोज ९ गतेदेखि लगाएको ताला खोल्न पनि कसैले पहल गरेका छैनन् । समन्वय समितिमा ताला लगाउने कुरामा स्थानीय दलका नेताहरू पनि मुछिएका छन् ।

















