अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अत्तरियामा भेटिएको अत्याधिक विषादीयुक्त तरकारी नष्ट गरिएको छ । कञ्चनपुरको बालुवाफाटाका किसानले बिक्री गर्न ल्याएको २२० किलो काउली परीक्षण गर्दा अत्याधिक विषादीको मात्रा भेटिएपछि गोदावरी नगरपालिकाकी उप प्रमुख, कृषि बजारका अध्यक्ष,नगर प्रहरीहरु र प्राविधिकको रोहबरमा विहिबार नष्ट गरिएको हो ।

नियमित रूपमा तरकारीको नमुना परीक्षण गर्दा मिलन ट्रेर्डस एण्ड सप्लायर्सले बिहिबार बिहान बजारमा ल्याएको काउलीमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ८०.७१३ प्रतिशत र जय श्री डाडाबाग फलफूल तरकारी पसलले ल्याएको काउलीमा ९८.८२ प्रतिशत पाइएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ अत्तरियाका नायब प्राविधिक सहायक भुवनेश्वर जोशीले जानकारी दिए । जोशीका अनुसार उपभोग्य अयोग्य रहेको २२० किलो काउली नष्ट गर्न गोदावरी नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा पठाइएको हो । परीक्षण गर्दा विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी भएको तरकारी उपभोग अयोग्य हुने र त्यसलाई नष्ट नै गर्नुपर्ने प्रावधान रहेको प्राविधिक जोशीले बताए ।


उनका अनुसार तरकारीमा विषादीको ३५ प्रतिशतभन्दा कम मात्रा हुँदा मात्रै खान योग्य र ३५ देखि ४५ प्रतिशतसम्म हुँदा केही दिन क्वारेन्टाइनमा राखेर ३५ प्रतिशतभन्दा कम भएपछि उपभोग योग्य हुन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए उपभोग अयोग्य हुन्छ, त्यस्तो तरकारी त नष्ट नै गर्नु पर्छ ।
अत्तरिया स्थित कृषि थोक बजारमा दिनहुँ तरकारीमा विषादीको परीक्षण हुने गरेको कृषि थोक बजारका अध्यक्ष डिल्लीराज जोशीले बताए । किसानले मिहिनेत र लगानि खर्चिएर उत्पादन गरेर ल्याएको तरकारी यसरी नष्ट गर्नुपर्ने अवस्था अन्त्यका लागि स्थानीय तह र कृषि शाखा पनि जिम्मेवार बन्नुपर्ने जोशीले बताए । स्थानीय तहसंग समन्य गरेर किटनाशक विषादीबारे जनचेतना अभियान सञ्चालन गर्न कृषि बजार तयार रहेको जोशीको भनाई छ ।















