अत्तरिया – कैलाली कञ्चनपुरका सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । भारत सँग सीमा जोडिएको कैलालीको खक्रोला भन्सार चेकपोस्ट र कञ्चनपुरको बेलौरी सडकघाटबाट लागू औषध सहित २ जना पक्राउ परेका हुन ।

आइतबार टीकापुर नगरपालिका – ९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लम्कीचुहा नगरपालिका – १ घुरवाका २२ वर्षीय कलम जैसी पक्राउ परेका छन् । शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ६५० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

यस्तै आइतबार साँझ भारतबाट नेपाल तर्फ पैदल आइरहेका लालझाडी गाउँपालिका – ६ चांददेउका २१ वर्षीय पुर्ण बहादुर चौधरीलाई प्रहरीले बेलौरी नगरपालिका – १० सडकघाटबाट पक्राउ गरेको छ ।
उनको साथबाट १ ग्राम लागू औषध खैरो हेरोइन जस्तो बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















