अत्तरिया – विगत ३ वर्ष देखि यातायात मजदुरका रूपमा कार्यरत कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया (तेघरी) का स्व. प्रकाश विष्टको परिवारलाई आर्थिक सहयोग गरिएका छ ।
सोमबार अछाम बाजुरा संयुक्त गठबन्धन परिवारका अध्यक्ष विक्रम स्वारको नेतृत्वमा सङ्कलित १ लाख १६ हजार ४६ रुपैयाँ उनको परिवारलाई सहयोग गरिएको हो । उनीहरूले सहयोग रकम सँग प्रकाशको तस्बिर समेत उनका दाइ लोकेन्द्र विष्टलाई हस्तान्तरण गरेका थिए ।


उक्त सहयोग रकम यातायात मजदुर, अत्तरिया, धनगढी स्थित यातायात व्यवसायीका काउन्टरमा कार्यरत मजदुर, होटल व्यवसायी लगायतबाट सङ्कलन गरिएको अध्यक्ष स्वारले बताए ।
जसमा नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनि ५/५ हजार सहयोग गरेका थिए ।

२१ वर्षीय प्रकाश विष्टले असोज २७ गते आफ्नै घरमा देह त्याग गरेका थिए । उनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको परिवारमा वृद्ध आमाबुबा, दाइ भाउजू रहेका छन् ।
उनको निधन पछि अहिले उनको परिवार शोकमा डुबेको छ । प्रकाश धनगढी देखि अछाम बाजुरा रुटमा चल्ने बसहरूमा सह–चालकको रूपमा कार्यरत थिए । उनका दाइ पनि यातायात मजदुरको रूपमा काम गर्ने भए पनि हाल बेरोजगार रहेका कारण घरको खम्बा प्रकाश बनेको थिए ।

उनको निधन पछि परिवारलाई थोरै भए पनि राहत पुगोस् भनेर सहयोग गरिएको सहयोग रकम सङ्कलनमा खटिएका कर्ण बहादुर साउँदले बताए । उनले निकै मिलनसार र सहयोगी भावनाका प्रकाशको निधनले सम्पूर्ण यातायात मजदुर शोकमा डुबेको बताए ।