खाेज्नुहाेस

छुट्टै पार्टी गठनको कसरतमा रेशम चौधरी, जेनजी पुस्तालाई नेतृत्व दिने तयारी

Image

धनगढी – नागरिक उन्मुक्तिबाट बाहिरिएका रेशम चौधरी छुट्टै दल खोल्ने गृहकार्यमा जुटेका छन्। नाउपाबाट संरक्षक रेशम चौधरीसहित ठूलो पंक्ति बाहिरिएको थियो। नाउपा संरक्षक रहेका चौधरीले आउँदो फागनु २१ गते प्रतिनिधिसभा निर्वाचनमा भाग लिने गरी दल दर्ताको तयारी थालेका हुन्।

नाउपा संरक्षक रेशम चौधरीले २०७८ पुसमा जेलभित्र नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका थिए। गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाणित भई कारावास रहेका बेला पार्टी खोलेकाले उनी अध्यक्ष बन्न पाएका थिएनन्। त्यसैले उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए।

attariya hospital

२०८० जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद माफी पाएपछि उनले त्यही पुसमा पहिलो अधिवेशन गरेर अध्यक्ष निर्वाचित गरेका थिए। तर निर्वाचन आयोगले उनी नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गरिदिएन।

navjiwan hospital

गत साउन १४ गते राष्ट्रिय भेला गरेर पत्नी श्रेष्ठलाई अध्यक्षबाट हटाएर बाबु लालवीरलाई पार्टी नेतृत्वमा ल्याए पनि निर्वाचन आयोगले उक्त कमिटी पनि अद्यावधिक नगरेपछि उनले नयाँ पार्टी गठनको गृहकार्य थालेका हुन्। उनले नयाँ पार्टी गठनको अभियान देशैभर विस्तारित भइरहेको बताए ।

उनले टीकापुर विद्रोहको भावना र मर्म आत्मसात् गर्दै नयाँ आन्दोलनको रूपरेखा तयार पार्ने बताए। अब बन्ने पार्टीले भर्खरै सडकमा प्रकट भएको जेन–जीको भावना, उनीहरूको उत्सर्गलाई पनि वहन गर्ने बताए।

नव युवाको भावनाको प्रतिनिधित्व गर्दै उनीहरूकै नेतृत्वमा नयाँ पार्टी खोल्न लागेको उनले बताए। उनले पार्टीको नामकरणसमेत गरिसकेका छन्। उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राख्ने निर्क्यौल गरेका छन्।

‘यहाँहरूलाई भनौं, नयाँ पुस्ताकै नेतृत्व रहने गरी नयाँ पार्टी खोल्दैछौं। नागरिक उन्मुक्ति पार्टी नेपालको अध्यक्ष जेन–जी (सन् १९९७देखि सन् २०१३ भित्र जन्मिएका युवा) नै हुनेछ,’ उनले भने।