खाेज्नुहाेस

आगलागीको १९ दिनपछि अवलोकन, दसैँ पछि सहयोग गर्ने आश्वासन

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगलागी भएको १९ दिनपछि स्थानीय तहका प्रशासनिक कार्यालयको अवलोकन तथा निरीक्षण गरेका छन् । आइतबार मुख्यमन्त्री शाहले भदौ २४ गते जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका गोदावरी, गौरीगंगा र घोडाघोडी नगरपालिकाको अवलोकन गरेका हुन । तीन पालिकाको अनुगमन गरेका मुख्यमन्त्री शाहले दसैँ पछि केही न केही पालिकाहरूलाई सहयोग गर्ने आश्वासन दिए । गोदावरी नगरपालिकाको अनुगमन पछि बोल्दै मुख्यमन्त्री शाहले प्रदेशबाट सहयोग गर्ने बताए ।

‘अकल्पनीय दुःखद घटना घटेकाले जति आगजनी तोडफोड भएका छन् त्यसको पुनर्निर्माण हामी आफै जुट्नुपर्ने अवस्था छ । यो अहिलेको परिस्थितिमा यसलाई परिस्थिति अनुसार काम सञ्चालन गर्ने जिम्मेवारी कर्मचारीको काँधमा आएको छ’ उनले भने ‘प्रदेशले पनि खर्च कटौतीका कुरा अगाडि बढाएको छ । पालिकाले पनि अनावश्यक खर्च रोक्ने वातावरण निर्माण गर्न आवश्यक छ । संघको पनि सहयोग रहला, पालिकाको पनि श्रोत होला । यसमा हामीले पनि सहयोग गछौ । त्यसको निर्णय दसैँ पछि गर्नेछौ ।’

attariya hospital

उनले भौतिक संरचना निर्माण तथा प्रदेशलाई मितव्ययी बनाउन सुदूरपश्चिम प्रदेश सरकारले दश लाखभन्दा साना आयोजना कटौती तथा बैठक भत्ता, विभिन्न किसिमका छपाई र सेमिनार गोष्ठीमा खर्च कटौती गरेको बताए । सुदूरपश्चिम सरकारले अन्य प्रदेश भन्दा अगाडी खर्च कटौती गरेको निर्णय गरेको उनले बताए । अवलोकनका क्रममा मुख्यमन्त्री शाहले आन्दोलनबाट भौतिक संरचनामा भएको क्षतिबाट नआत्तिएर सबै एकजुट भई अगाडी बढ्नु पर्ने बताए ।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट गोदावरी नगरपालिकामा ९ करोड ५४ लाख २६ हजार ५ रुपैंया, गौरिगंगा नगरपालिकामा ७ करोड १२ लाख २३ हजार ५ सय रुपैंया र घोडाघोडी नगरपालिकामा ८ करोड ५० लाख २५ हजार ७ सय २९ रुपैंया क्षति भएको मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो ।

navjiwan hospital

आन्दोलनका क्रममा यस अघि प्रदेश स्थितका तोडफोड र आगजनीबाट ध्वस्त भएका २९ वटा कार्यालयहरूको भौतिक संरचनाहरूको अवलोकन गरेका थिए ।

डेढ करोड खर्च कटौती

यसैबिच भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड पनि पुनर्निर्माण गर्न गोदावरी नगरपालिकाले डेढ करोड खर्च कटौती गरेको छ । आइतबार प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नगरपालिकाको अनुगमन गरेपछि पत्रकारहरू सँग कुराकानी गर्दै मेयर भट्टले पालिका बैठकबाट डेढ करोड खर्च कटौती गरेर पुनर्निर्माण खर्च गर्ने निर्णय भएको बताए ।

‘पालिकाले पुन निर्माणका लागि डेढ करोड खर्च गर्ने भनेर पालिका बैठकमा निर्णय गरेका छौ’ उनले भने ‘विगतमा हामीले जुन सिपमूलक तालिम दिइरहेका छौ । त्यसलाई कटौती गरेका छौ । नगरी नहुने बाहेक हाम्रै कार्यकालमा पनि ३ पटक यस्ता तालिम आयोजना गरिएकाले कटौती गरेका छौ ।’

उनले नागरिक सँग अपिल गर्दा थुप्रै जिन्सी सामान नगरपालिकाले प्राप्त गरेको बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्रीले पनि सहयोग गर्ने आश्वासन दिएकाले सहयोग पाउने आशामा रहेको बताए । उनले भने ‘विषमा परिस्थितिमा स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ वहाले सचिव स्तरमा पनि कुरा चलाउनु भएको छ । वहाले के कति सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा गरेका छौ ।’