अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई डेढ महिनाको दूधको भुक्तानी गरेको छ । विगत ८ महिना देखि दूधको भुक्तानी रोकिएको भए पनि माघ महिनाको पुरै र फागुन महिनाको आधा भुक्तानी गरिएको डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले बताए । उनले डेढ महिनाको २ करोड भुक्तानी गरिएको बताए ।
उनले उक्त रकम डीडीसीलाई दूध उपलब्ध गराउने ५९ वटा सहकारी, समूह र कृषि फारमलाई वितरण गरिएको बताए । डीडीसीले २ करोड भुक्तानी गरे पनि बाँकी भदौ सम्म साढे ६ महिनाको करिब साढे ४ करोड रकम भुक्तानी गर्न बाँकी छ । उक्त रकम क्रमागत रूपमा भुक्तानी गर्दै जाने कार्यालय प्रमुख भट्टराइले बताए । जेठ ८ गते देखि भदौ ३१ सम्म ताला लागेको थियो । ताला लाग्नु अघि नै ४ महिनाको दूधको भुक्तानी बाँकी रहेका बेला ताला लागे पनि पुरानो नयाँ सबै भुक्तानी रोकिएको थियो । लामो समय सम्म दूधको भुक्तानी रोकिएपछि किसानहरूले विरोध समेत जनाएका थिए ।

लम्की चुहामा रहेको पञ्चपुरी सहकारीका अध्यक्ष यम राज जैशीले दसैँ सम्म फागुन १५ सम्मको भुक्तानी गरिने बताइए पनि हाल माघ महिनाको मात्रै रकम खातामा आएको बताए ।
उनले लम्कीबाट १ सय जना किसानको दूध सङ्कलन गरेर अत्तरियामा पुगाउने गरेको बताए । उनले माघ महिनाको साढे ५ लाख सहकारीको खातामा आएको बताए । उनले दूधको भुक्तानी समयमा नहुँदा निकै समस्या भएको बताए ।

चौमालामा रहेको नवज्योति कृषक सहकारीका अध्यक्ष रमेश कुमार भाटले हाल फागुन १५ सम्मको मात्रै दूधको भुक्तानी सहकारीमा आएको बताए । उनले सहकारीमा आएको रकम किसानलाई वितरण गरिएको बताए । उनका अनुसार सहकारीमा दैनिक १ सय किसानले दूध सङ्कलन गर्दै आएका छन् । सहकारीले उक्त दूध स्थानीय बजारमा खपत गरेर बाँकी दूध डीडीसी अत्तरियामा पुगाउने गरेको छ ।
कञ्चनपुरको पुनर्वासमा रहेको शुभेच्छा सहकारीका व्यवस्थापक अर्जुन कँडेलले भने माघ महिनाको मात्रै दूधको भुक्तानी आएको बताए । उनले बाँकी भुक्तानी दसैँ भित्र गर्ने भनिए पनि अझै नआएको बताए ।
हाल डीडीसीले सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराबाट दूध सङ्कलन गर्दै आएको छ । डीडीसीले ५९ वटा सहकारी, समूह र कृषि फारमबाट दूध सङ्कलन गर्दै आएको छ । डीडीसीले हाल दैनिक २ हजार ५ सय देखि ३ हजार लिटर सम्म दूध सङ्कलन गर्दै आएका छन् ।
डीडीसीको दूधको भुक्तानी देशैभर रोकिएको भए पनि अत्तरियामा करिब ४ महिनादेखि तालाबन्दी हुँदा भुक्तानीको काम ठप्प भएको थियो । स्थानीयले डीडीसी धनगढी सार्ने नहुने भन्दै तालाबन्दी गरेका थिए । डीडीसी केन्द्रीय कार्यालयले स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि ताला खुलेको थियो । डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए । यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो ।
हाल डीडीसी अत्तरियामा रहेको कृषि उपज थोक बजारमा भाडाको घरमा सञ्चालनमा रहेको छ । जहाँ डीडीसीको स्तरोन्नति गर्न ठाउँ अभाव भएको भन्दै नयाँ ठाउँमा सार्न लागिएको डीडीसीले बताउँदै आएको छ ।

















