धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–८ बदला चोकबाट टिकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय बिष्णु कठायत र टिकापुर नगरपालिका–१० बस्ने १९ वर्षीय धर्मेन्द्र शाह पक्राउ परेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ ।

त्यसैगरी, गौरीगंगा नगरपालिका–८ चमारीपुरबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनको शरीर तथा घरमा खानतलासी गर्दा १ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला पारेको जनाएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


















