खाेज्नुहाेस

रेशमले छोडे नाउपा, नयाँ पार्टी निर्माणको घोषणा

Image

धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले उक्त पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै नागरिक उन्मुक्तिबाट अलग हुने बताएका चौधरीले नयाँ पार्टी निर्माण गर्ने घोषणा गरेका छन् । रेशम र उनकी पत्नीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबिच लामो समयदेखि विवाद रहेको थियो । श्रीमतीसँगको विवादका कारण रेशमले पार्टी त्याग गरेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल राख्ने बताएका छन् ।

गत साउनमा रेशम पक्षको काठमाडौंमा भएको राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षसहित साधारण सदस्यबाट समेत हटाएर रेशमका बुबा लालवीरलाई अध्यक्ष बनाएको थियो । तर, उक्त भेलाको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको थिएन । रेशमले पार्टी छोडेर नयाँ पार्टीको संगठन निर्माणमा लाग्ने बताएका छन् । ‘नागरिक उन्मुक्तिबाट अलग भएको घोषणा गर्दछु ।

attariya hospital
navjiwan hospital

मलाई अब झगडा गर्नु छैन,’ उनले भनेका छन्, ‘म आजबाट नयाँ पार्टी निर्माणमा लाग्छु । म राजनीतिक व्यक्ति हो, पार्टीविना बस्न सक्दिनँ । राजनीति नगरी बस्न सक्दिनँ ।’ रेशमले आफूलाई साथ दिन नागरिक उन्मुक्तिका नेता–कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

रेशमले रञ्जिता तथा नेता दामोदर पण्डित लगायत सँग आफ्नो कुनै दुस्मनी नरहेको पनि बताएका छन् । उनले निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्षबाट रोक्न नमिल्ने तर्क गरेका छन् ।

थरुहट आन्दोलनका क्रममा आठजनाको ज्यान गएको टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका वेला रेशमले श्रीमती रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति गठन गराएका थिए । उनी कैद मिनाहा भएर कारागार मुक्त भएसँगै पार्टीको महाधिवेशन गराएर आफू अध्यक्ष बनेका थिए । तर, निर्वाचन आयोगले उक्त समितिलाई मान्यता दिएको थिएन ।