अत्तरिया– नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालयका सभापति बिष्णु बडैलाले नेपाली कांग्रेसलाई एक जुट हुन आग्रह गरेका छन । बुधबार विज्ञप्ती सार्वजनिक गर्दै उनले लोकतन्त्र र देश जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताएका हुन ।

उनले देश जोगाउन, लोकतन्त्रलाई सुदृढ बनाउन र जनताको हकहित सुरक्षित गर्न कांग्रेसले अटल भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै फेरि एक भएर देशका लागि उठ्न आग्रह गरेका छन् । उनले पपुलिस्ट नारा र भीडलाई उक्साएर देश चलाउन खोज्ने गलत प्रवृत्ति देखिएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन । त्यतिमात्रै नभई एकातिर शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने प्रयास भैरहेको र अर्कातिर देश जलाउने अपराधीहरु उन्मुक्ति पाईरहेको समेत बडैलाले विज्ञप्तीमार्फत भनेका छन ।

बडैलाले देश विकासका लागि जिम्मेवार राजनीति र सबल संस्थागत प्रणाली अपरिहार्य भएको समेत बताएका छन । ‘लोकतन्त्र केवल सडकको भीडमा होईन, संविधान र संस्थागत व्यवस्थामार्फत टेकेर अघि बढ्छ’ बडैलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘देशलाई विकास, स्थायित्व र समृद्धिको बाटोमा डो¥याउनका लागि जिम्मेवार राजनिति, स्पष्ट नीतिगत दिशा र सबल संस्थागत प्रणाली अपरिहार्य छ ।’
यद्दपी उनले जनताबाट प्राप्त जनसन्देशलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै पार्टीभित्र नयाँ नीतिअनुसार कांग्रेसले देशभरीका जनताको विश्वास जित्ने भन्दै कांग्रेसप्रेमी कार्यकर्ताहरुमार्फत पार्टीले एक आधिकारिक धारणा प्रवाह गर्नुपर्ने आवश्यक देखिएको समेत उल्लेख गरेका छन । उनले फेरि एक भएर देशका लागि उठ्न र जिम्मेवार लोकतान्त्रिक बाटोबाटै अघि बढ्न अनुरोध गरेका छन । विज्ञप्तीमा बडैलाले जेनजी को आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीहरुप्रती श्रद्धाञ्जली समेत अर्पण गरेका छन ।





















