बाजुरा– परम्परागत रुपमा गरिदै आएको आरन व्यवसाय पछिल्लो समय संकटमा पर्न थालेको छ । सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा प्रचलित परम्परागत आरन व्यवसाय युवापुस्ताले चासो नदिदा संकटमा पर्न थालेको हो ।

पुस्तौँदेखि फलामबाट स्थानीय औजार बनाउँदै आएका समुदायका व्यवसायीहरू पछिल्लो समय यो पेसाबाट हात झिक्न थालेका छन् । युवा पुस्ताले यो व्यवसायतर्फ चासो नदेखाउनु र जीविकोपार्जनका लागि पर्याप्त आम्दानी नहुनु यो पेसा सङ्कटमा पर्नुको मुख्य कारण हो । बडिमालिका नगरपालिका–७ का आरन व्यवसायी कर्ण विकका अनुसार मेहनतको तुलनामा आम्दानी नहुने भएकाले गुजारा गर्नै मुस्किल भएको छ ।

परम्परागत रूपमा मिजार, लुहार र कामी जातिका समुदायले यो पेसा अँगाल्दै आए पनि अहिले सङ्कटमा परेको उनि बताउँछन । यस्तै, बुढिगंगा नगरपालिका ताप्राका अर्का आरन व्यवसायी जित लुहारले पहिलेको बालिघरे प्रथा हराएदेखी उक्त पेशामा छाक टार्न मुस्किल हुने गरेको सुनाए । ‘पहिले हँसिया, कोदालो जस्ता औजार बनाएबापत प्रत्येक घरबाट अन्न लिने बालीघरे प्रथा थियो’ उनले भने ‘अहिले त्यो पनि हराउँदै गयो छाक टार्नै मुस्किल भएपछि युवा पुस्ता बरु रोजगारीका लागि विदेश जाने तर यो पेसा नअँगाल्ने तर्फ लागेका छन ।’
बजारमा आधुनिक मेसिनबाट निर्मित फलामका औजार सर्वसुलभ र लोकप्रिय बनेपछि उपभोक्ताले परम्परागत उत्पादनभन्दा आधुनिक विकल्प रोज्न थालेका छन् । एक समय एक गाउँमा दर्जनौँ परिवारले अँगालेको यो पेसा अहिले जिल्लाभर करिब दुई दर्जनभन्दा कम परिवारमा मात्र सीमित भएको व्यवसायीहरूको भनाइ छ । स्थानीय व्यवसायीहरूले राज्यको सहयोगमा मात्र यो पेसा जोगाउन सकिने बताउदै आएका छन । सरकारले प्रविधिसँग मेल खाने तालिम, बजार व्यवस्थापन र अन्य व्यवसायीलाई जस्तै प्रोत्साहनका कार्यक्रम ल्याएमा परम्परागत आरन व्यवसायलाई नयाँ जीवन दिन सकिने उनिहरुको भनाई छ ।

















