खाेज्नुहाेस

साँफेबगर नगरपालिका– १२ ले अत्तरियामा शिविर सञ्चालन गर्ने

Image
अत्तरिया– अछामको साँफेबगर नगरपालिका– १२ ले कैलालीको अत्तरियामा शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले वडाबाट प्रदान गरिने सामाजिक सुरक्षा प्रमाणपत्र नवीकरणका लागि यही भदौ ४, ५ र ६ गते तीन दिन अत्तरियामा शिविर सञ्चालन गर्ने भएको हो ।
attariya hospital
वडाबाट अस्थायी रूपमा तराई बसोबास गरेका वडावासीहरूको सहजताका लागि अत्तरियामा शिविर सञ्चालन गर्न लागिएको वडाध्यक्ष जनक बहादुर कडायतले बताए । उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने केही लाभग्राहीहरू कैलाली कञ्चनपुर तथा भारतमा अस्थायी रूपमा बसोबास गर्दै आइरहेको बताउँदै उनीहरूको सहजताका लागि शिविर सञ्चालन गर्न लागिएको बताए । ‘वडाबाट सेवा लिने व्यक्तिहरू विभिन्न कारणले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका छन्’ वडाध्यक्ष कडायतले भने ‘उनीहरूलाई लक्षित गरेर भदौ ४, ५ र ६ गते तीन दिनसम्म वडाका विभिन्न कामकारबाहीहरू सम्बन्धी सेवा दिनका लागि शिविर सञ्चालन गर्न लागेका हौ ।’
उनले वडाबाट बाध्यताका कारण बसाई सरेका वडावासीहरू राज्यको सुविधाबाट वञ्चित नहोउन् भन्ने सोचेर ३ दिनका लागि शिविर सञ्चालन गर्ने योजना बनाएको बताए । उनले उक्त ३ दिनमा शिविरबाट सामाजिक सुरक्षा प्रमाणपत्र नवीकरण, नयाँ प्रमाणपत्र प्रदानका साथै जन्म, मृत्यु, नाता प्रमाणित, विवाह दर्ता लगायतका कामहरू पनि गरिने बताए । ‘बसाइसराइ को सिफारिस हामीले गर्दैनौ, हामीले अव्यवस्थित रूपमा भइरहेको बसाई सराई रोक्नकै लागि यो काम गर्न लागिरहेका छौ’ उनले भने ‘अरू वडाबाट प्रदान गर्न सकिने सेवाहरू शिविरबाट प्रदान गरिनेछन् ।’
navjiwan hospital
उनका अनुसार औषधी उपचार गर्न, अर्काको नाममा जग्गा देखाएर पनि बाध्य भएर बसाइसराइ लिने क्रम बढेको छ । सो बसाई सराई रोक्नका लागि वडाले पहल स्वरूप शिविर सञ्चालन गरिरहेको अध्यक्ष कडायतले बताए । उनले राज्यको सेवा सुविधा लिनका लागि दोब्बर खर्च गरेर आउनुपर्ने वडावासीहरूको बाध्यतालाई वडाले मध्यनजर गरेको बताए । वडाध्यक्ष कडायतले वडाका नागरिकहरू पढाई, व्यापार, रोजगारी तथा औषधी उपचारका लागि भए पनि वडाबाहिर जानुपर्ने अवस्था रहेको बताए । उनले अस्थायी रूपमा बसोबास गर्ने र औषधि उपचारका लागि तथा अन्य कारणले छिमेकी मुलुक भारतमा भएका वडावासीहरू वडा कार्यालयसम्म पुग्न सक्ने अवस्था कम भएकाले वडाका कर्मचारी र जनप्रतिनिधिको स्वयं उपस्थितमा शिविरमार्फत अत्तरियाबाट सेवा प्रवाह गरिने बताए ।
वडा कार्यालयले अत्तरियामा शिविर सञ्चालन हुने भएकाले शिविरबाट सेवा लिन आग्रह गर्दै सूचना जारी गरेको छ । मंगलबार जारी गरिएको सूचनामा सामाजिक सुरक्षा परिचय पत्रको नवीकरण मात्रै भनिए पनि सबै किसिमका सेवाहरू दिइने वडाध्यक्ष कडायतले बताए । वडा कार्यालयले जारी गरेको सूचनामा सामाजिक सुरक्षा परिचय पत्र सक्कलै प्रति, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, ६० वर्ष मुनिका एकल महिलाको हकमा अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपि, बालबालिका, पूर्ण अपाङ्गता भएका र ९० वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षक/माथवर/स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि साथमा लिएर आउन आग्रह गरिएको छ ।
वडाध्यक्ष कडायतले पछिल्लो समय सबै कार्यका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य जस्तै भइसकेकाले शिविरमा त्यसका लागि पनि कार्य गर्ने योजना बनाएको बताए । ‘राष्ट्रिय परिचय पत्र नभएका वडावासीहरूलाई शिविरबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने प्लान हामीले बनाएका छौ’ उनले भने ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई केही समय मागेर शिविरमै बोलाउने गरी समन्वय भइरहेको छ ।’ उनले आफूहरूले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँग समन्वय गरिरहेको र जिल्ला प्रशासन कार्यालयबाट सहमति भएको खण्डमा शिविरबाटै वडावासीहरूलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने समेत बताए ।
वडा कार्यालयले अत्तरियामा रहेको पार्टनर प्यालेसमा शिविरको आयोजना गर्ने जनाएको छ । शिविरका लागि प्यालेसका सञ्चालक भक्त बहादुर ठकुल्लाले निःशुल्क कोठा उपलब्ध गराउने प्रतिबद्धता गरेको समेत अध्यक्ष कडायतले बताए । ‘उहाँ (ठकुल्ला) हाम्रो नगरपालिका वडा नं. ५ का स्थानीय हुनुहुन्छ, त्यसैले हामीले उहाँलाई हाम्रो योजनाको बारेमा जानकारी दिएका थियौँ’ अध्यक्ष कडायतले भने ‘उहाँले वडाले राम्रो काम गरिरहेको भन्दै निःशुल्क कोठा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’