अछाम– अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयले अनुमती दिएको छ । अर्थ मन्त्रालयले बिहिबार साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि अनुमती दिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरले अर्थ मन्त्रालयबाट अनुमती पाएको जानकारी प्राप्त भएको बताए । भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नं १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग हुँदै आएको थियो । सोही विषयमा स्थानीय तहको सिफारिसमा जिल्ला समन्वय समिति अछामका प्रमुख कुँवरको नेतृत्वमा प्रक्रिया अगाडि बढेको थियोे ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल मार्फत स्थानीय तहका सिफारिस र जिल्ला समन्वय समितिको सिफारिस सहित गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि माग गरिएको थियो । अव आवश्यक जनशक्ति, भौतिक पुर्वाधार लगायत अन्य संरचनाको गृह मन्त्रालले अध्ययन गरेर चाँडै स्थापना हुने प्रमुख कुँवरले विश्वास व्यक्त गरे । अन्य आवश्यक व्यवस्थापनको लागि जिल्ला समन्वय समितिको तर्फबाट सहयोग र सहजिकरण भई राख्ने कुँवरले बताए ।


















