खाेज्नुहाेस

पछि हट्यो सेना, अत्तरियामा बस्ती बसपार्क क्षेत्र छोडेर तारबार

Image
अत्तरिया बसपार्क पछाडि सेनाद्वारा गरिएको तारबार

अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा साढे १७ हेक्टर जग्गा आफ्नो भएको दाबी गर्दै आएको नेपाली सेनाले अत्तरिया बसपार्क, बस्ती र लामिताल क्षेत्र छोडेर तारबार गरिरहेको छ । लामो समय देखि बसपार्क, बस्ती र लामिताल आफ्नो भोगाधिकारमा रहेको दाबी गर्दै आएको सेनाले अन्ततः ती संरचना छोडेर तारबाट गरिरहेको हो ।

सेनाले केही वर्ष यता आफ्नो भोगाधिकारमा रहेको भन्दै अत्तरिया बसपार्क निर्माणमा अवरोध गर्दै आएको थियो भने ६१ घरधुरी रहेको बस्ती हटाउन पनि चेतावनी दिदैं आएको थियो । भोगाधिकारमा भएको भने पनि सेनाले उक्त क्षेत्रमा विगत १ वर्ष देखि मात्रै भोगचलन गरिरहेको थियो भने हाल आफ्नो भोगचलनमा रहेको जग्गा संरक्षण गर्ने भन्दै सेनाले तारबार गरिरहेको हो ।

attariya hospital
बस्ती पछाडि तारबार गरिँदै

जसअनुसार हाल सम्म सेनाले ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको पछाडिको भाग छोडेर तिन तिर तारबार गरिसकेको छ । दुवै प्रहरी कार्यालयको पछाडिको क्षेत्रमा भने विवाद हुँदा काम रोकिएको छ । प्रहरीले नै सेनाको भोगाधिकार रहेको जग्गामा भौतिक संरचना निर्माण गरेकाले विवाद हुँदा काम रोकिएको श्रोतको दाबी छ । वर्षौँदेखि संरक्षण गरेर भोगचलन गर्दै आएको जग्गा नेपाली सेनालाई नछाड्ने अडान प्रहरीले लिएको छ भने सरकारले गरेको निर्णयका आधारमा भोगाधिकार प्राप्त भइसकेकाले उक्त जग्गामा तारबार गरेर संरक्षण गर्ने नेपाली सेनाले दाबी गरिरहेको छ । दुवै पक्ष बिच सहमति नहुँदा हाल उक्त क्षेत्रमा तारबारको काम रोकिएको छ ।

सेनाले तारबार गरेपछि अत्तरियामा रहेको बौद्ध गुम्बा, रेडक्रस भवन अत्तरिया देखि बौद्ध गुम्बा हुँदै बास्कोटा जाने बाटो सेनाको घेरबार भित्र परेको छ । यद्यपि सेनाले बाटोहरूको निकास र प्रवेशद्वार भने हाल खुलै राखेको छ । प्रवेश र निकासद्धारमा गेट राख्ने सेनाको योजना छ । यस्तै बसपार्कबाट लामिताल जाने बाटो पनि सेनाले आफ्नो घेरबार भित्र राखेको छ । लामितालको दक्षिण क्षेत्रको केही भाग सेनाको घेरबार  भित्र पर्ने गरी तालको दुबैपट्टि घरबाट गरिएको छ  भने ताल क्षेत्रमा भने खाली छोडिएको छ ।

लामिताल क्षेत्रमा गरिएको तारबार

लामो समय देखि विवादित जग्गामा सेनाले ठेक्का मार्फत तारबार गरिरहेको हो । सेनाले ई–विडिङ मार्फत टेन्डर गरी गरिएको ठेक्का सम्झौतामा १ हजार ८ सय मिटर तारबार गर्ने उल्लेख छ । तारबार गर्ने क्षेत्रमा ५ वटा गेट राखिएको छ ।

navjiwan hospital

यसअघि सेनाले बस्ती, बसपार्क र लामिताल क्षेत्र छोडेर तारबार गर्ने गरी टेन्डर आह्वान गरे पनि सेनाले यी नि वटै क्षेत्रमा तरबार गर्न लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमात्मक सूचना पनि फैलिएका थिए । यद्यपि सेनाले हाल टेन्डर आह्वान गरे अनुरूप नै काम गरिरहेको छ ।

सम्बन्धित समाचार : अत्तरिया बसपार्क, बस्ती र लामीताल छोडेर तारबार गर्न सेनाको टेन्डर

गोदावरी नगरपालिका – २ मा पूर्वपश्चिम राजमार्गको उत्तर र भीमदत्त राजमार्गको पूर्वी भागमा तत्कालीन शाही नेपाली जङ्गी अड्डाको नाममा भोगाधिकार हस्तान्तरण गर्ने गरी २०६२ चैत्र १० गते तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषदबाट निर्णय गरेर नेपाली सेनालाई भोगाधिकार दिइएको थियो । भोगाधिकार लिएर पनि चुप लागेको सेना बसपार्क निर्माण गरेपछि भने आफ्नो भएको दाबी गर्दै जुरमुराएको थियो ।

बौद्ध मन्दिरको पूर्वी क्षेत्रमा गरिएको तारबार

अत्तरियामा तत्कालीन माओवादी सशस्त्र द्वन्द्व भएको बेला सेना बसेको स्थानीयको भनाइ छ । सशस्त्र द्वन्द्व सकिने बेला सेनाले उक्त जग्गा आफ्नो भोगाधिकारमा हालेको जानकारहरू बताउँछन् ।

अत्तरियामा सेनाले २०६२ सालमा जग्गाको भोगाधिकार लिएको देखिए पनि भीमदत्त राजमार्ग छेउको बस्ती भने सो अघि नै बसेको स्थानीय हितेस विक बताउँछन् । उनले सेनाले भोगाधिकार लिनु अघि आफूहरूले जग्गाको भोगाधिकार गरिरहेको भए पनि सेनाले हवाई नक्सा मार्फत आफ्नो नाममा गरेर बस्ती हटाउन दाबी गर्दै आएको बताए । गुगलमा उपलब्ध पुरानो स्याटलाइट नक्सा २०६० (२००३)  अनुसार पनि उक्त क्षेत्रमा बस्ती बसेको देखिन्छ ।