नेपालमा विकास निर्माण कार्यहरूमा देखिएको एउटा दीर्घकालीन र समस्याग्रस्त प्रवृत्ति हो ‘असारे विकास’ । प्रत्येक आर्थिक वर्षको अन्तिम महिना असारमा, विकास निर्माणका कामहरू हतारमा गर्ने चलन अब संस्थागत जस्तै भइसकेको छ । यस्ता हतारोमा गरिने कामले न गुणस्तरको ग्यारेन्टी दिन्छ, न स्थानीय जनताको दीर्घकालीन सुविधा सुनिश्चित गर्छ । यो अवस्था बदलिनु अहिलेको आवश्यकता हो, विकल्प होइन ।
सम्झौताअनुसार समयमै काम सुरु गर्ने हो भने गुणस्तरीय संरचना बन्न सक्थ्यो । तर, देखिन्छ—प्रायः सम्झौता अवधि धेरै अघि सकिएको भए पनि, योजनाको अन्तिम म्याद—असार मसान्त नजिकिँदै जाँदा मात्रै काम सुरु हुन्छ । परिणामतः, कामगुणस्तरहीन हुन्छ, स्थानीय तहको अनुगमन कमजोर हुन्छ, अनि बजेट चाहिनेभन्दा बढी खर्चिन्छ ।


कैलालीको अत्तरियास्थित आदर्श गल्लीको कालोपत्रे यसको एक उदाहरण हो । करिब दुई वर्षअघि सम्झौता भएको यो सडक असारको झरीमा कालोपत्रे गर्दा केही दिनमै हातले उखेल्न सकिने स्थितिमा पुगेको छ । यस्तो अवस्थामा निर्माणको ‘गुणस्तर’ शब्द प्रयोग गर्नु नै अनुचित ठहरिन्छ । सडकमा मोटरसाइकल रोकेको भरमा धसिने, सामान्य बलले उप्किने कालोपत्रेले देखाउँछ—यो योजनामा न कामको निगरानी भएको छ, न ठेकेदारको जबाफदेही सुनिश्चित गरिएको छ ।
हाम्रा आर्थिक स्रोतहरू सीमित छन् । एउटा कामलाई वर्षेनी दोहो¥याएर गर्ने परिपाटीले देशको समग्र विकास बजेट खेर जाने स्थिति निम्त्याइरहेको छ । त्योभन्दा पीडादायक पक्ष चाहिँ—सडक होस् वा अरू संरचना—स्थानीय जनतालाई गुणस्तरहीन विकासले थप सास्ती दिइरहेको छ ।
अब राज्यको प्राथमिकता हतारको विकास होइन, टिकाउ विकास हुनुपर्छ । समयमै काम सुरु गर्ने, चरणबद्ध अनुगमन गर्ने, दोषी ठेकेदारलाई कारबाही गर्ने, अनि असार मसान्तलाई ‘बजेट सकाउने घडी’ होइन ‘समीक्षा गर्ने घडी’ बनाउने नयाँ अभ्यास थाल्नु जरुरी छ । असारलाई ‘विकासको महिना’ बनाउने सपना तब पूरा हुन्छ, जब हामी असारे विकासको लतबाट मुक्त हुन्छौँ । त्यसैले असारमा विकास निर्माणका कार्य गर्ने परिपाटी अन्त्य गरी विकास निर्माणको समीक्षा गर्ने समयका रूपमा अघि बढाउन आवश्यक छ ।
















