अत्तरिया – कञ्चनपुरको कृष्णपुरमा बालमैत्री, अपाङ्गता र लैङ्गिक समावेशी शौचालय निर्माण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, वल्र्ड भिजन इन्टरनेशनल नेपाल र कृष्णपुर नगरपालिकाको साझेदारीमा कृष्णपुर नगरपालिका – ९ मा रहेको पञ्चाधिन माध्यमिक विद्यालयमा उक्त शौचालय निर्माण गरिएको हो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक रामेश्वर जैशीका अनुसार, बालबालिकाका लागि सुरक्षित र समावेशी वातावरणमा शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले शौचालय निर्माण गरिएको हो । परियोजनामा कृष्णपुर नगरपालिकाको २ लाख र अन्य साझेदार संस्थाहरूको १२ लाख गरी कुल १४ लाख ३ हजार रुपैयाँ खर्च भएको जानकारी उनले दिए ।


वल्र्ड भिजन इन्टरनेशनल नेपाल कञ्चनपुरका जिल्ला संयोजक सुरज शर्माले भौतिक पूर्वाधारहरूको सदुपयोग र संरक्षण सबैको दायित्व रहेको बताए । उनले स्वच्छता र शुद्धतामैत्री समाज निर्माणमा यो पहलले सहयोग पुग्ने उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा योगदान पु¥याउने यस्ता संरचनाहरूको निर्माणमा नगरपालिकासहित दातृ संस्थाहरूको निरन्तर सहयोग रहँदै आएको बताए ।
त्यस्तै, वडा अध्यक्ष कैलाश बहादुर बलायरले विद्यालयको आवश्यकतालाई ध्यानमा राखी गरिएको सहयोगप्रति आभार व्यक्त गरे । उनले शिक्षा क्षेत्रमा साझेदारी संस्थाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । नगरपालिकाले साझेदार संस्थासँग सहकार्य गर्दै शिक्षा क्षेत्रको प्रवद्र्धनमा विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।
















