खाेज्नुहाेस

कमरेडको दोहोरो चरित्र

Image

कमरेड शब्दको मूल अर्थसामाजिक समानता, भ्रातृत्व र सामूहिकताको आदर्श बोकेको देखिन्छ । यस शब्दको उत्पत्ति स्पेनी भाषाको “कामाराडा” बाट भएको भए पनि, यसको राजनीतिक प्रयोग फ्रान्सेली क्रान्तिबाट आरम्भ भई मजदुर आन्दोलनमार्फत सशक्त रूपले फैलिएको हो । ‘कमरेड’ शब्दले भाषिक र सामाजिक विभेद तोडेर सबैलाई समान हैसियतमा हेर्ने विचारको प्रतिनिधित्व गर्छ । विशेषगरी जर्मनीको प्बmभचबम र रसियाको त्यखबचष्कजअज जस्ता शब्दहरूले १९औँ शताब्दीको बौद्धिक आन्दोलन र साम्यवादको विकासक्रममा गहिरो प्रभाव पारेका थिए । यसरी कमरेड शब्द इतिहासमै सामाजिक रूपान्तरणको प्रेरक बनेको पाइन्छ ।

यद्यपि नेपालजस्तो मुलुकमा कमरेड शब्दको प्रयोग र व्यवहारबीच गहिरो विरोधाभास देखिन्छ । यो शब्दले बोकेको सामूहिकता र समानताको आदर्शलाई नेपाली वामपन्थी नेताहरूको व्यवहारले कमजोर बनाएको छ । जनताका बीच समानताको सन्देश फैलाउने नेताहरू आफैंले विलासी जीवनशैली, सत्तामोह र शक्ति केन्द्रित राजनीतिमा रमाउँदै ‘कमरेड’ शब्दलाई खोक्रो बनाएका छन् । सिद्धान्तमा सबैको हित चाहने, वर्गहीन समाज निर्माण गर्ने आदर्श बोकेका कमरेडहरू व्यवहारमा व्यक्तिगत लाभ, पद र पहुँचको पछि लाग्दा आम जनतामा गम्भीर असन्तोष उत्पन्न भएको छ । यसलेकमरेडको आदर्शात्मक औचित्य अझै कायम रहे पनि त्यसको व्यावहारिक विश्वसनीयता संकटमा परेको छ ।

attariya hospital

समाजवादी आन्दोलनले भाषिक संरचनामा गहिरो परिवर्तन ल्याउने प्रयास गर्यो, जसको मूल उद्देश्य नै सामाजिक पदसोपान र विभेदपूर्ण सम्बोधन हटाउनु थियो । सामन्ती र पुँजीवादी संस्कारले स्थापित गरेका ‘श्रीमान्’, ‘सर’ वा ‘महोदय’ जस्ता सम्मानसूचक सम्बोधनहरू समाजमा शक्ति, वर्ग र पदको असमानता झल्काउने प्रतीक बनेका थिए । समाजवादले यस्तो भाषिक संरचना तोडेर सबैलाई समानताको भावमा समेट्न ‘कमरेड’ शब्दलाई अगाडि बढायो । जर्मनीमा सन् १९४८ मा कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि पूर्वका उपाधिहरू हटाइ एकरूपता ल्याउने क्रममा कमरेड शब्द सबै तहका व्यक्तिका लागि प्रयोग गरियो। नेतृत्वदेखि सामान्य सदस्यसम्म एउटै सम्बोधनले संगठनभित्र पारदर्शिता, सहकार्य र बराबरीको भावना अभिव्यक्त गर्योस, जसले साम्यवादको भाषिक आदर्शलाई जीवन्त बनायो ।

नेपालमा पनि वामपन्थी आन्दोलनको विकाससँगै ‘कमरेड’ शब्दले राजनीतिक र वैचारिक परिचयको रूपमा स्थान पायो । २००७ सालपछिको कम्युनिस्ट उभार र त्यसपछि विकसित जनयुद्धका क्रममा यो सम्बोधन क्रान्तिकारी चेतनाको प्रतीकजस्तै बन्यो । नेकपा एमाले, माओवादी केन्द्र, जनमोर्चा जस्ता दलहरूले नेतृत्वदेखि कार्यकर्ता तहसम्म सबैलाई ‘कमरेड’ सम्बोधन गर्दै संगठनमा औपचारिकता भन्दा अधिक समानता र आत्मीयता स्थापित गर्ने प्रयत्न गरे । तर यो भाषिक समानता व्यवहारमा पनि समानता झल्काउने हो कि केवल सम्बोधनमै सीमित रहने भन्ने प्रश्न उठ्न थालेको छ । परम्परागत दलहरूमा यसको प्रयोग सीमित भए तापनि, वाम गठबन्धनका विभिन्न तहमा आज पनि कमरेड शब्दले विचार र अनुशासनसँगको नाता जनाउँछ । तथापि, यसको सार्थकता तब मात्र रहन्छ जब भाषिक समानताको साथसाथै व्यवहारमा पनि वर्ग, लिंग र जातीय समावेशिता सुनिश्चित गरिन्छ ।

नेपालमा ‘कमरेड’ शब्दले बोकेको सामाजिक समानता, त्याग र सामूहिक जीवनशैलीको आदर्श व्यवहारमा लागू हुन नसकेको गम्भीर विरोधाभास देखिन्छ । सिद्धान्ततः कमरेड एकजुटता, सामूहिक सम्पत्ति र वर्गविहीन समाजको प्रतीक हो, तर व्यवहारमा यसको ठीक उल्टो देखिन्छ । विशेषतः माओवादी आन्दोलनका शीर्ष नेताहरू जनताको नाममा सशस्त्र संघर्ष गरिरहेको बेला सामान्य कार्यकर्ताहरू जंगल र गाउँमा अभावमा संघर्षरत थिए, तर नेतृत्व तहले सुविधासम्पन्न जीवनशैली अपनाए । आन्दोलनका सहिदहरूको बलिदान जनताका लागि परिवर्तन ल्याउन होइन, नेताहरूका लागि शक्ति र सुविधाको सिँढी बनेको छ ।

वामपन्थी नेतृत्वको विलासी प्रवृत्तिले कमरेडको आदर्श झनै संकटमा पारेको छ । उदाहरणस्वरूप,अधिकांश नेताहरुको करोडौँ मूल्यको निजी निवास, गाडी र विशेष सुरक्षा व्यवस्थाले सर्वसाधारणमा निराशा निम्त्याएको छ । जनताको नाममा सामूहिक सम्पत्तिको कुरा गर्ने नेताहरू स्वयं व्यक्तिगत सम्पत्तिको संकलनमा केन्द्रित हुनु गम्भीर विरोधाभास हो । यस्तो व्यवहारले जनताको आशा र भरोसामाथि चोट पु¥याएको छ, जसले गर्दा कमरेड शब्द एक आदर्श होइन, ढोंगको प्रतीक बन्ने खतरा बढेको छ ।

navjiwan hospital

यस्तै प्रकारले घोषणापत्र र कार्यान्वयनबीचको दूरी पनि गहिरो छ । चुनावअघि सार्वजनिक शिक्षा, स्वास्थ्य, रोजगारी, सशक्तिकरणजस्ता जनपक्षीय योजनाहरूको घोषणापत्रमा उल्लेख भए तापनि, कार्यान्वयनको चरणमा ती योजनाहरू वित्तीय स्रोत, नीति स्पष्टता र कार्यदक्षताको अभावका कारण अलपत्र पर्दै आएका छन् । सडक, बत्ती, विद्यालयजस्ता आधारभूत आवश्यकता सुनिश्चित गर्न नसक्ने अवस्थाले जनताको मनोबल खस्काएको छ । नेताहरूको भाषणमा देखिने आदर्श र जनजीवनमा देखिने यथार्थबीचको यो अन्तर नै कमरेड संस्कृतिको व्यवहारिक संकट हो ।

संगठनभित्र समानता र सहभागिताको कुरा गर्ने वामपन्थी दलहरूले आफ्नै संरचनामा जात, लिंग, वर्ग र क्षेत्रीय विविधताको समुचित प्रतिनिधित्व गर्न सकेका छैनन् । निर्णय प्रक्रियामा महिला, दलित, जनजाति तथा मधेसी समुदायको उपस्थिति अझै औपचारिकतामा सीमित छ । आलोचनाको स्वीकारोक्ति नगर्ने, नेताहरूलाई सर्वेसर्वा मान्ने संस्कारले नेतृत्व–कार्यकर्ता सम्बन्धलाई सत्तावादी बनाएको छ । यस्तो असमान संरचना र व्यवहारले कमरेड शब्दको सामाजिक र राजनीतिक विश्वसनीयता गुमाउँदै लगेको छ । यसैले अब कमरेडको आदर्श साँचो अर्थमा स्थापित गर्न गहिरो आत्मालोचन र व्यवहारिक सुधार अपरिहार्य देखिन्छ ।

नेपालको वर्तमान राजनीतिक परिदृश्यमा वामपन्थी नेताहरू, विशेषतः ‘कमरेड’ उपाधि बोकेका नेताहरूप्रति जनताको विश्वास गम्भीर रूपमा खस्किएको छ । जनताले कुनै समय क्रान्तिकारी सोच, त्याग, समानता र परिवर्तनको प्रतीकका रूपमा हेरेका यिनै नेताहरू आज सत्ताको दुरुपयोग, विलासी जीवनशैली र व्यापक भ्रष्टाचारमा लिप्त देखिन थालेका छन् । विशेषतः ठूला कम्युनिस्ट दलहरूका नेताहरू सरकारी संस्थानहरूमा भागबण्डा, बजेट हेरफेर, नियोजित नियुक्ति, र ठेक्कापट्टामा चलखेल गर्दै आएका प्रमाणहरू सार्वजनिक भएका छन् । कमरेड नामले चिनिने केही नेताहरूको जीवनशैली, निजी सम्पत्ति, र पहुँच जनताको सपनासँग गम्भीर रूपमा टकराउने स्थितिमा पुगेको छ ।

सार्वजनिक जग्गा हडप्ने, ठेक्का कमिसन खाने, शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रहरूमा अनियमितता बढाउने कार्यहरूमा वामपन्थी नेताहरूको संलग्नता देखिनु चिन्ताजनक पक्ष हो । नेताहरूले आफूलाई समानताको पक्षधर भनेर चिनाउँछन्, तर व्यवहारमा उनीहरूका परिवार विदेशमा ऐशआरामको जीवन बिताइरहेका छन्, जबकि कार्यकर्ताहरू संघर्षमै अल्झिएका छन् । यस्तो दोहोरो चरित्रले कमरेड शब्दको नैतिक मूल्य खण्डित पारिदिएको छ ।
कमरेड शब्दले बोकेको समानता, सेवा र समर्पणको आदर्श नेपाली जनताले केवल भाषणमा सुन्ने गरेका छन्, व्यवहारमा देख्न भने पाएनन् । जनताले भाषिक आवरणभन्दा बढी व्यावहारिक इमानदारी खोजिरहेका छन् । खासगरी ग्रामीण तथा श्रमिक वर्गले आफूहरूको प्रतिनिधित्व गर्छन् भन्ने आशामा भोट दिएको नेतृत्वले पद, पैसा र पहुँचकै पछाडि लाग्दा उनीहरूमा गहिरो असन्तोष बढेको छ । भाषणमा आदर्शवाद प्रस्तुत गर्ने नेताहरू व्यवहारमा विलासी जीवनशैली अपनाउँदा उनीहरू कमरेड कहलिनको नैतिक आधार गुमाइरहेका छन् । जनताले अब ‘कर्मले बोलेका’ कमरेड खोज्न थालेका छन्, जो सरलता, उत्तरदायित्व र सामाजिक न्यायमा दृढ भएर उभिन्छन् ।

नेपालको राजनीतिक संस्कृतिमा अहिले नेतृत्वको खालीपन महसुस गरिएको छ। पुराना पार्टीहरूको असफलता र जनआकांक्षासँग मेल नखाने कार्यशैलीले वैकल्पिक राजनीतिक शक्तिप्रति आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, मिडिया र सडक आन्दोलनहरूमा युवाहरूको सक्रियता जनताले नयाँ राजनीतिक दिशा खोजिरहेका छन् भन्ने संकेत हो । यो सन्दर्भमा वामपन्थी कमरेडहरूले आत्मसमीक्षा नगर्ने हो भने उनीहरू आफैँ राजनीतिक इतिहासका विस्मृत पात्र बन्ने खतरा रहेको छ । जनताले अब विचारमा मात्रहोइन, व्यवहारमा पनि सच्चा कमरेड चाहेका छन् – जो जनहितमा निष्ठावान् र उत्तरदायी हुनेछन् ।

अन्ततः, कमरेड शब्द केवल राजनीतिक सम्बोधन होइन, एक विचार र जीवनशैलीको प्रतिनिधि हो । यो विचार त्यतिबेला मात्रै सशक्त हुन्छ जब त्यसमा आस्था राख्नेहरूले त्यही अनुसारको आचरण देखाउँछन् । जनताले अब भाषण र आश्वासनको राजनीति भन्दा माथि उठेर कर्म र नतिजामा आधारित नेतृत्व चाहेका छन् । अतः आजको ऐतिहासिक घडीमा कमरेडहरूलाई साँचो अर्थमा विचार, व्यवहार र नैतिकतामा आधारित नेतृत्व प्रदान गर्न तयार हुन जरुरी छ, ताकि जनताको भरोसा पुनः प्राप्त गर्न सकियोस् र कमरेड शब्दले फेरि सम्मान प्राप्त गरोस् ।

– लेखक साउँद  सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।