धनगढी– कञ्चनपुरमा छाउगोठमा सर्पले टोकेर महिलाको मृत्यु भएको घटनामा अखिल नेपाल महिला संघ (अनेमसंघ) कैलालीले विज्ञप्ती जारी गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ की २८ वर्षिया कमला आउजीको छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा अनेमसंघले सोमबार विज्ञप्ती जारी गरेको हो ।

कैलाली जिल्ला इन्चार्ज रुकमणि देवकोटाद्धारा जारी गरिएको विज्ञप्तिमा छाउपडी प्रथा सुदूरपश्चिममा अझै अभिशापको रुपमा रहनु दुःखद भएको बताईएको छ । ‘कानुनतः अवैध मानिएको छाउपडी प्रथा अझै पनि सुदूरपश्चिमका पहाडी र तराईका जिल्लाहरुमा नारीहरुको लागि अभिषापको रुपमा रहेको छ’ देवकोटाद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘मौलिक र मानव अधिकार उल्लंघन मात्र होइन राज्यको कानुनको खिल्ली उडाउने गरि संस्कारको नाममा यस्ता कुरीतिहरु समाजमा कायम रहनु अत्यन्तै दुःखद कुरा हो ।’

विज्ञप्तीमा मृतक आउजीका ३ बालबालिकाहरुको पालनपोषण र शिक्षादीक्षाको लागि सम्बन्धीत निकायसँग माग पनि गरिएको छ । यस्तै विज्ञप्तीमा कुरीती र कुसंस्कार विकास र समृद्धिको वाधक भएको र यसका विरुद्ध सबै एकजुट हुनुपर्ने बेला आएको पनि भनिएको छ । विज्ञप्तीमा यस्तो कुरीति अन्त्यका लागि सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराईएको छ ।
















