कञ्चनपुर– पछिल्लो एक सातामा कञ्चनपुरमा सडक दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन । शुक्रबार साँझ बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्यु भयो । त्यसको केही दिनअघि सोही स्थानमा सवारीको ठक्करबाट भीमदत्त नगरपालिका–१५ का दीपेन्द्र चन्दको र शुक्लाफाँटा नगरपालिका–१ मा बसको ठक्करबाट द्रोपती भट्टको मृत्यु भएको थियो ।
कञ्चनपुरमा पछिल्लो केही समययता सडक दुर्घटनाले भयावह रुप लिन थालेको छ । गत आर्थिक वर्ष केही कम भएको सवारी दुर्घटना चालु आर्थिक वर्षमा अझ बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् । कञ्चनपुरमा चालू आर्थिक वर्षको हालसम्म (असार ३० सम्म) ४४३ वटा सवारी दुर्घटना भएका छन्, जसमध्ये ३७ जनाको मृत्यु भएको छ ।


आर्थिक वर्ष २०८०/८१ मा ५६ सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएका थिए । सोही अवधिमा ६ वटा चौपायाको समेत मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा ६३ सवारी दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए भने ५९ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ९३ सडक दुर्घटना हुँदा ३५ जनाको मृत्यु र ६३ जना घाइते भएका थिए ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार, कञ्चनपुरमा सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल रहेका छन् । पछिल्लो तीन वर्षमा ५ सय १४ मोटरसाइकल दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार, सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको छ । उनले साघुँरा सडकमा सवारीसाधनको अत्यधिक चाप रहेको र त्यसमाथि चालकले नियम नमान्दा दुर्घटना बढेको बताए । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
स्थानीय विष्णु जोशीले सवारी दुर्घटनामा राज्य र नागरिक दुवै उत्तिकै दोषी रहेको औँल्याए । उनले चालक स्वयं सचेत भए दुर्घटना न्यूनीकरण हुने भए पनि चालकले थाहा पाएर पनि ट्राफिक नियम नमान्ने र नियमन गर्ने निकाय मौन रहेको गुनासो पोखे । अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको उनको भनाइ छ ।
अर्का स्थानीय सरस्वती भट्टले चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको बताए । ‘सवारी दुर्घटना हुँदा जसले गल्ती गरेको हो उसलाई कारबाही हुनुको साटो जहिले पनि ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्ने होला’ उनले भने, ‘फितलो कानुनका कारण पनि चालक र पैदलयात्रु दुवैले लापरबाही गरेको हुन्छ ।’ सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि चालकले लापरबाही गर्ने गरेको उनको आरोप छ ।
















