कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का ललित राज जोशी दुर्घटना प्रकरणमा दोषी प्रहरीलाई नै जोगाउन खोजिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।


शुक्रवार साँझ बेदकोट नगरपालिका–१० त्रिपुरा मन्दिर नजिकै लुप्र ०३–००१ प २८५१ नम्बरको मोटरसाइकल दुर्घटनामा जोशीको मृत्यु भएको थियो ।

उनको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले सञ्चारमाध्यमलाई जानकारी गराएको थियो ।

तर, जोशी सवार मोटरसाइकल आफैँ अनियन्त्रित नभई प्रहरी जवान सवार मोटरसाइकलले ठक्कर दिएको खुलेपछि स्थानीय र मृतक जोशीका आफन्त आन्दोलित भएका छन् ।
उनीहरूले आइतबार बिहानैदेखि कञ्चनपुरको झरालीस्थित पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् । मृतक जोशी सवार मोटरसाइकललाई प्रदेश प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सिद्ध राज जोशी र अमित भट्ट सवार बा ८६ प ८७८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
जाहेरीपछि मोटरसाइकल चालक सिद्ध राज जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । मोटरसाइकलमा सवार अमित भने घाइते भएकाले उपचार भइरहेको छ । सिद्ध राज र अमित प्रदेश प्रहरीबाट परिचालित घुमुवा प्रहरी रहेको बताइएको छ ।
दुर्घटनामा प्रहरी कर्मचारी नै दोषी भएकाले प्रहरीले उनीहरूलाई उन्मुक्ति दिन खोजेको आरोप मृतक जोशीका आफन्त र स्थानीयको छ । उनीहरूले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग बन्द गरेका हुन् । आन्दोलित पक्षले कञ्चनपुर जाँदै गरेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माको गाडी पनि केही समय रोकेका थिए ।