खाेज्नुहाेस

फेरि चर्कियो अत्तरिया उद्योग वाणिज्य संघको विवाद, पर्‍यो उजुरी

Image
file photo

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको विवाद पुनः चर्किएको छ । अदालतको आदेश पश्चात् केही समय शान्त बनेको संघको विवाद अध्यक्ष कल्याण सिंह बोहराले व्यवसाय नवीकरणका लागि सूचना जारी गरेसँगै पुनः चर्किएको हो । अध्यक्ष बोहराले संघका साधारण सदस्यहरूको सदस्यता नवीकरण गर्न बाँकी रहेको भन्दै साउन ५ गतेसम्मको मिति तोकेर सदस्यता नवीकरण गर्नका लागि सूचना जारी गरेका थिए । सो सूचना जारी भएपछि अध्यक्ष बोहराको नाममा जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेको छ । अदालतले कुनै पनि काम कारबाही गर्न नपाउने भनी आदेश जारी गरेको भए पनि सो को उल्लंघन गर्दै अध्यक्षले व्यवसाय नवीकरणका लागि सूचना जारी गर्नु गलत भएको नाम उल्लेख नगर्ने सर्तमा संघका एक निवर्तमान पदाधिकारीले बताए ।

उनले संघका ११ जना सदस्यले राजीनामा दिइसकेको अवस्थामा संघको विधान बमोजिम पदाधिकारीको पदपूर्ति गराउनु भनी उच्च अदालत दिपायलबाट आदेश आउँदा समेत अध्यक्षले मनोमानी गरिरहेको बताए । ‘अदालतको फैसला बमोजिम हालसम्म मिलेर आउनु भन्ने बाहेक अन्य कुनै काम हुन सकेको छैन’ ती पदाधिकारीले भने ‘तर अध्यक्षज्यूले भने निर्णय समेत नगरी आफूखुसी सदस्यता नवीकरण गराउने, नयाँ सदस्यता वितरण गर्ने, आफूखुसी भित्रभित्रै संस्थाको रकम हिनामिना गर्ने जस्ता कार्य अहिले पनि गरिरहनु भएको छ ।’ उनले यस्ता कार्य तत्काल रोक्नका लागि नै प्रशासनमा उजुरी परेको बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

उनले संघमा हाल नवीकरण भएका सदस्यहरूको मात्रै भेला गरी सो भेलाबाट नयाँ समिति गठन गरिनुपर्ने बताए । ‘यसरी नयाँ सदस्यता वितरण गर्ने हो भने त पुरानै अवस्था आइहाल्छ, फेरी आफ्ना मान्छेहरूलाई सदस्यता दिनतर्फ लागिहाल्छन्’ उनले भने ‘त्यसैले त्यसो नगरी अदालतले भने अनुसार हाल आबद्ध रहेका तथा नवीकरण भएका सदस्यहरूको भेला गरी सो भेलाबाटै नयाँ समितिका लागि आवश्यक प्रक्रिया थालिनुपर्दछ ।’

यता संघका अध्यक्ष कल्याण सिंह बोहराले भने आफूले अदालतको आदेश अनुसार नै काम गरिरहेको बताएका छन् । उनले अदालतले विधान बमोजिम पदाधिकारी पदपूर्ति गर्ने आदेश दिएको र आफूले सोही अनुसार गरिरहेको बताए । ‘अदालतको आदेश संघको विधान बमोजिम आवश्यक कामकारबाही गर्नुपर्ने भन्ने हो, मैले विधान अनुसार साधारण सभा गर्न खोजिरहेको हु’ उनले भने ‘साधारण सभा त्यसै हुँदैन, सदस्यता त चाहियो नि ।’ उनले कसैले निहुँ खोज्नका लागि उजुरी हाल्ने काम गरेको बताए ।

अत्तरियामा २०८० पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौँ दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए । सो समयमा संघका पदाधिकारीहरू नै दुई भागमा विभाजित बनेपछि विवादले अझ उग्र रूप लिएको थियो । संघ भित्रकै दुई समूह बिचको विवाद चरम उत्कर्षमा पुगेपछि संघका एक समूहका ११ जना पदाधिकारीहरूले २०८१ मंसिर ५ गते राजीनामा दिएका थिए ।

attariya technical collage

तर अध्यक्ष बोहराले त्यसको केही समयपछि माघ १ गते ६ जनालाई सदस्यमा मनोनीत गरेपछि भने सो पुगेपछि सो मुद्दा उच्च अदालत दिपायल सम्म पुगेको थियो । उच्च अदालतले विधान विपरीत नियुक्त गरेको भन्दै मनोनीत गरेका ६ जनाको पद बदर गरेको थियो भने अध्यक्ष र जिल्ला प्रशासन कार्यालय कैलालीलाई विधान बमोजिम संस्था सञ्चालनका लागि कामकारबाही अघि बढाउन आदेश जारी गरेको थियो । महोत्सवमा भेटिएका नक्कली टिकट ठेलीबाट विवादित बनेको अत्तरिया उद्योग वाणिज्य संघको विवादको गुत्थी अझै सुल्झिन सकेको छैन ।