अत्तरिया– कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले धान रोपाइँ सप्ताह सुरु गरेको छ । राष्ट्रिय धान दिवस (असार १५) लाई लक्षित गरी स्कुलले ‘पढाइसँगै खेती, लक्ष्य लिऔं समृद्धि र प्रगति’ भन्ने नाराका साथ धान रोपाइँ सप्ताह सुरु गरेको हो । एकेडेमीले असार ८ गतेदेखि १५ गतेसम्म विविध शैक्षिक तथा व्यवहारिक कृषि गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रमको पहिलो दिन, विद्यालयका कक्षा ९ का विद्यार्थीहरूले गोदावरी नगरपालिका–५, गेटास्थित कृषक चामु चौधरीको करिब ९ कट्ठा खेतमा सामूहिक रोपाइँमा सहभागी भएर रोपाइँ सप्ताहको सुरुवात गरेका छन । कृषक चौधरीले विद्यार्थीहरूको सक्रिय सहयोगले एकै दिनमा सारा खेत रोपाइँ सम्पन्न भएकोमा खुशी व्यक्त गरे । उनले यस प्रकारको शैक्षिक सहभागिताले कृषिप्रति विद्यार्थीहरूको झुकाव बढ्ने विश्वास व्यक्त गरे । विद्यालयका प्रिन्सिपल स्माइल चौधरीले कार्यक्रमको बारेमा जानकारी दिँदै भने, ‘शिक्षा केवल किताबी ज्ञानमा सीमित रहनुहुँदैन । विद्यार्थीलाई माटो, उत्पादन र समुदायसँग जोडेर सिकाउनु नै हाम्रो लक्ष्य हो ।’

सप्ताहव्यापी रोपाइँ कार्यक्रमअन्तर्गत विद्यालयले सामूहिक रोपाइँ, हलो जोत्न सिकाइ, हिलो खेल्ने कार्यक्रम (शिक्षण खेती), साथै ‘धान हाम्रो धन’ विषयमा चित्रकला तथा निबन्ध प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै, धानको महत्वबारे भिडियो भाषण तथा कविता प्रतियोगिता, कृषिमा प्रयोग हुने औजार तथा प्रविधिबारे अवलोकन र धानको जीवन चक्रबारे स्टिममा आधारित सिकाइ कार्यक्रम पनि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रमको अन्तिम दिन किसान सम्मान कार्यक्रम आयोजना गरिने छ विद्यालयका प्रिन्सिपल स्माइल चौधरीले बताए । उनले सो सम्मान कार्यक्रममा स्थानीय कृषकहरूको योगदानको कदर गरिने बताए । विद्यालयको यस्तो अभ्यासले विद्यार्थीमा कृषि चेतना, सामाजिक उत्तरदायित्व र व्यवहारिक शिक्षा सँगको सम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको उनले बताए ।


















