अत्तरिया– कैलाली र कञ्चनपुरबाट प्रहरीले १ लाख ५९ हजार बराबरका अवैध सामान बरामद गरेको छ । बिहिबार कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले १ लाख ५८ हजार ६०० बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रहरीले कञ्चनपुरबाट अन्दाजी ५७ हजार मुल्य बराबरका सामान सहित ४ जना भारतियलाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी न.पा– १ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सो रकम बराबरका ३ क्विन्टल ५० किलो तोरी र ४ थान साइकल सहित लखिमपुर खिरी बसही कलौनी वस्ने २२ वर्षिय सन्तोश कुमार, २० वर्षिय अनुज गुप्ता, २४ वर्षिय सञ्जय कुमार र २१ वर्षिय मनोज कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरीले बिहिबार राति सामान सहित चार जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै बेलौरी नगरपालिका– २ बैजुडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी २५ हजार ६०० मुल्य बराबरका सामान पनि प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सो रकम बराबरका पेय पदार्थ, बिडी, बोइलर कुखुरा लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यता कैलालीबाट पनि प्रहरीले अवैध रुपमा भन्सार छली गरेका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी ७७ हजार मुल्य बराबरका बिडी, सुर्ति, सिद्रा माछा लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

















