अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका बाह्रै वडाले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । बाह्रै वडाले वडा भेलाको आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका हुन । वडा भेलामा १२ वडाले कुल १२ करोडको बजेट ल्याएका छन् । जसमा सबैभन्दा धेरै वडा नम्बर १ ले १ करोड २० लाख ९७ हजार ९९२ रुपैयाँको बजेट ल्याएको छ भने सबैभन्दा कम वडा नम्बर ७ ले ८६ लाख १० हजार ७८० रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले प्रत्येक वडालाई समानिकरण तर्फ ७०/७० लाख विनियोजन गरेको भए पनि सूत्रमा आधारित बजेट फरक फरक हुने नगरका प्रवक्ता गोपाल दत्त भट्टले बताए ।
वडाले ल्याएका बजेटमा वडा नम्बर १२ बाहेक सबै वडाले पहिलो प्राथमिकता पूर्वाधार विकासलाई दिएका छन् । कुल १२ करोड बजेटमा वडाहरूले ६ करोड २६ लाख १६ हजार ८३ रुपैयाँ बजेट पूर्वाधार विकासका लागि छुट्याएका छन् । जुन बाह्रै वडाले ल्याएको कुल बजेटको ५२ प्रतिशत हो । पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट वडा नम्बर १ मा विनियोजन गरिएको छ । जसमा ८० लाख अर्थात कुल बजेटको ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । सबैभन्दा कम पूर्वाधार विकासमा बजेट छुट्याएको वडा नम्बर १२ ले २७ लाख ५० हजार अर्थात् कुल बजेटको २७ प्रतिशत बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास अन्तरगत सडक कालोपत्रे, नाला निर्माण, ग्राभेल, खोलानालामा कल्भर्ट निर्माण लगायतका योजना समेटिएको वडाहरूले जनाएका छन् । बाह्रै वडाले पूर्वदार विकासमा सवा ६ करोड बजेट छुट्याएको भए पनि उक्त बजेट टुक्रे योजनामा विभाजन गर्ने गरिएको छ ।



यसैबिच वडाले दोस्रो प्राथमिकतामा राखेको सामाजिक विकास तर्फ २ करोड ३२ लाख ९० हजार बजेट विनियोजन गरिएको छ । जुन बाह्रै वडाले ल्याएको कुल बजेटको १९ प्रतिशत हो । सामाजिक विकास तर्फ सबैभन्दा कम बजेट वडा नम्बर ७ ले छुट्याएको छ भने सबैभन्दा बढी वडा नम्बर १२ ले छुट्याएको छ । वडा नम्बर ७ ले सामाजिक विकास तर्फ १० लाख बजेट छुट्याउँदा वडा नम्बर १२ ले २७ लाख ५० हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ सामाजिक सुरक्षाका कार्यक्रम, विभिन्न किसिमका सीपमूलक तालिम, जनचेतनाका कार्यक्रम, कला संस्कृति संरक्षणका कार्यक्रम गर्ने वडाहरूले जनाएका छन् ।
यस्तै धेरै वडाले तेस्रो प्राथमिकतामा राखेको आर्थिक विकासका कार्यक्रमका लागि १ करोड ९४ लाख बजेट विनियोजन गरिएको छ । जुन बाह्रै वडाले ल्याएको कुल बजेटको १६ प्रतिशत हो । आर्थिक विकास तर्फ पनि सबै भन्दा बढी बजेट वडा नम्बर १२ ले ल्याएको छ । जसका लागि ३७ लाख बजेट छुट्याइएको छ भने सबैभन्दा कम बजेट ५, ७ र ११ नम्बर वडाले समान १०/१० लाख बजेट छुट्याएका छन् । आर्थिक विकास तर्फ तालिम, अनुदान, पर्यटन विकास जस्ता कार्यक्रम राखिएका छन् ।
वडाहरूले बाँकी १३ प्रतिशत बजेट वन तथा वातावरण क्षेत्र, सुशासन तथा संस्थागत विकासका लागि छुट्याएका छन् । जसअन्तर्गत वन, भू संरक्षण, फोहर मैला व्यवस्थापन, कार्यालय खर्च राखिएको छ ।


















