अत्तरिया- कैलालिको गोदावरी नगरपालिका-१० ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । आइतवार आयोजित वडाभेलामा वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाले पठाएको बजेट सिलिङका आधारमा वडासदस्य शेरबहादुर तामाङ ले आगामी आर्थिक वर्षका लागि कुल ९३ लाख ३० हजार ४०३ रुपैया बराबरको बजेट प्रस्तुत गरेका थिए । उनले सो बजेट विभिन्न क्षेत्रमा छुट्याइएको बताए । उनका अनुसार वडाले कुल बजेटको करिव ४७ प्रतिशत रकम पुर्वाधार विकासमा छुट्याएको छ । कुल बजेट मध्ये वडाले पुर्वाधार विकासमा ४३ लाख ८५ हजार ३०३ रुपैया छुट्याएको वडासदस्य तामाङले बताए ।

त्यसबाहेक सामाजिक विकासमा वडाले कुल बजेटको करिव ३० प्रतिशत बजेट बिनियोजन गरिएको छ । अन्य वडाको तुलनामा सामाजिक विकासमा बढी बजेट विनियोजन गरिएको तामाङले बताए । उनका अनुसार सामाजिक विकासमा वडाले २७ लाख ७५ हजार विनियोजन गरिएको छ । यस्तै आर्थिक विकासमा १३ लाख ९५ हजार, विपद ब्यवस्थापन तथा मागमा आधारित कार्यक्रमतर्फ १ लाख ७५ हजार र सार्वजनिक सेवा प्रवाह, कार्यालय संचालन तथा ब्यवस्थापनतर्फ ६ लाख रुपैया बजेट छुट्याइएको छ ।
वडाभेलामा वडाका नीति तथा कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । जसमा वडाले चालू आर्थिक वर्षमा भैरहेका काम तथा आगामी आर्थिक वर्षमा गर्नुपर्ने कामकारवाहिहरु समावेश गरिएको थियो ।



















