अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– २ तेघरीमा रहेको ज्ञानज्योती सेकेन्डरी स्कुलमा सञ्चालित पोटरी तथा सेरामिक बनाउने तालिम सम्पन्न भएको छ । काठमाण्डौ युनिभर्सिटीको आर्ट एण्ड क्राफ्ट विभागसँगको सहकार्यमा विद्यालयले सञ्चालन गरेको दुई हप्ते तालिम सम्पन्न भएको हो ।

तालिममा विद्यार्थीहरुलाई प्रशिक्षण दिनका लागि जस्मिता थारु, सविता कुमाल र ज्ञान बहादुर कुमाल गरी तिन जना प्रशिक्षकहरु रहेका थिए । तालिमले गर्दा विद्यार्थीहरु उत्साहीत भएको विद्यालयका सञ्चालक जगविर थापाले बताए ।

उनले परम्परागत कला संस्कृति लाई जोगाउन विद्यालयले सो तालिमको आयोजना गरेको बताए । त्यसका साथै विद्यार्थीहरुमा नयाँ सोचको विकास गरी उनिहरुलाई उद्यमशिल बनाउन पनि तालिमले मद्दत पुग्ने उनले बताए । तालिममा विद्यार्थीहरुलाई माटोबाट बन्ने विभिन्न भाडावर्तन तथा सजावटका सामानहरु तयार गर्न सिकाईएको थियो ।

















