खाेज्नुहाेस

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउन प्रचण्डले दुवै पक्षलाई बोलाए खुमलटार

Image

धनगढी– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी दुवै पक्षलाई काठमाण्डौ बोलाएका छन । लामो समयदेखी विवादमा रहेको सो समस्या सुल्झाउन बुधबार प्रचण्डले दुवै पक्षलाई खुमलटार बोलाएका हुन ।

२०८० फागुनमा संसदीय दलको नेताबाट नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेका थिए । तर अध्यक्ष प्रचण्डले सहमतिमै विवाद समाधान गर्न र भट्टलाई दलको नेता बनाउन पटक पटक दिएको निर्देशन पालना भएको छैन । यद्यपि बुधबारको बैठक निष्कर्षमा पुग्नेमा आफू सकारात्मक रहेको भट्टले बताए । ‘विवाद समाधानका लागि अध्यक्षले नै बोलाउनुभएको छ । यसबिचमा हाम्रो भेट भएको छ । उहाँले समस्या समाधान हुन्छ भन्नुभएको छ । अहिलेलाई सकारात्मक रूपमा बुझौँ’, उनले भने ।

attariya hospital
navjiwan hospital

यसअघि दलको नेता भट्टलाई बनाउन पार्टीले चार पटक परिपत्र नै पठाएको थियो । तर कार्यान्वयन नभएपछि यसअघि प्रचण्डले संसदीय दललाई फागुन १४ गते खुमलटार बोलाएका थिए । फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन उनी काठमाडौँ आएका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको थियो । भट्ट पक्षधरले पटक पटक केन्द्रको निर्देशन वर्तमान संसदीय दलका नेता धामीले उल्लङ्घन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेका थिए । धामी पक्षका सांसदहरू प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए ।

धामीको पक्षमा सांसदहरू अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र झपटबहादुर साउद उभिएका थिए । भट्टको पक्षमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली र जानकीदेवी कुँवर उभिएका थिए । संसदीय दलमा माओवादीको ११ जनामध्ये भीमबहादुर भण्डारी सभामुख रहेका छन् ।

विवाद मिलाउनका लागि गत फागुनको पहिलो हप्ता पार्टीले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । जागरण अभियान सुदूरपश्चिम प्रवेश गर्नुअघि नै विवाद साधनका लागि इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाए । सुदूरपश्चिमको डडेलधुरास्थित जोगबुढामा भएको कार्यक्रममा सहभागी हुन गएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन गरेको प्रयास समेत असफल भएको थियो । त्यसअघि तीन पटक पार्टीले सर्कुलर र अध्यक्ष प्रचण्डले निर्देशन दिए पनि सफल हुन सकेको छैन ।