नेपाली बजारमा सबैभन्दा बढी माग हुने तरकारीका रुपमा प्याजलाई लिईन्छ । भान्सामा मसाला, तरकारी, सलाद लगायतका विभिन्न परिकारका रुपमा यसको प्रयोग हुने भएकाले पनि यसको माग बढी हुने गरेको छ । तर प्याजमा आत्मनिर्भर बन्न नसक्दा नेपालले वर्षेनी करिब ७ अर्ब बराबरको प्याज आयात गरिरहेको छ । नेपालमा भारत, चीन, बंगलादेश लगायतका मुलुकहरूबाट प्याज आयात हुने गर्दछ । जसमध्ये झन्डै ९७ प्रतिशत प्याज भारतबाट भित्रिन्छ ।

नेपालको कृषि प्रणाली नै आयातमा अत्यधिक निर्भर हुँदै गएको छ, विशेषतः दैनिक उपभोग्य वस्तुहरूमा । प्याज पनि यस्तै एक प्रमुख उपभोग्य सामग्री हो, जसको वर्षेनि झण्डै ३ लाख मेट्रिक टनसम्म भारतबाट आयात गरिन्छ । यस्तो आयात निर्भरता केवल हाम्रो अर्थतन्त्रलाई कमजोर बनाउने होइन, बाह्य मुलुकमा सानो नीतिगत परिवर्तनले पनि आन्तरिक बजारमा मूल्य वृद्धिको संकट निम्त्याउन सक्छ ।

कोरोना महामारीको समयमा भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको अभाव चर्किएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मुल्य आकाशिएको थियो । कोरोनाको समयमा मात्रै नभई पटक पटक भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य आकस्मिक रूपमा वृद्धि भएको उदाहरणहरू प्रशस्त छन् ।
प्याज उत्पादनका लागि नेपालको हावापानी, माटो र श्रमशक्ति अनुकूल रहेको छ । तसर्थ प्याजमा आत्मनिर्भर बन्ने आधारहरू पर्याप्त छन् । सरकारले यदि नीति निर्माणमा प्राथमिकता दिई कृषकहरूलाई बीउ, मल, सिंचाइ र भण्डारणको सुविधा प्रदान गर्ने हो भने, आगामी केही वर्षमा नेपाल प्याज उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । प्याजजस्ता मौलिक खाद्य वस्तुमा आत्मनिर्भरता केवल आर्थिक सुरक्षा मात्र होइन, राष्ट्रिय गौरवको विषय पनि हो ।
पछिल्ला केही वर्ष यता विभिन्न स्थानिय तहहरुले प्याजमा आत्मनिर्भर बन्न बिउ अनुदान लगायतका कार्यक्रमहरु अघि सार्ने गरेका छन । त्यसले धेरै हदसम्म प्याजमा आत्मनिर्भर बन्ने बाटो तयार गर्दछ । प्याज उत्पादन हुने क्षेत्रलाई पकेट क्षेत्रका रुपमा घोषणा गरी किसानहरुलाई आवश्यक पर्ने कृषिजन्य वस्तुहरुको व्यवस्था गर्न सके केही वर्षमै प्याजमा आत्मनिर्भर बन्न सकिन्छ । जसले देशको अर्बाै रकम देशमै रोक्न समेत मद्दत पुग्छ । प्याजको उत्पादन गर्ने किसानहरुलाई स्थानिय, प्रदेश तथा संघ सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने तथा प्याजको बजारीकरणमा समन्वय गरे भारतबाट प्याज आयात गर्नै पर्दैन । स्थानियस्तरमै उत्पादन भएको प्याजलाई सहज रुपमा बजारसम्म पु¥याउन र बजारीकरण गर्न पनि स्थानिय सरकारले सहयोग गर्नुपर्दछ । प्याजमा आत्मनिर्भर बन्न सके रोजगारीका अवसरहरु पनि सृजना हुन सक्छन । तसर्थ प्याजमा आत्मनिर्भर बन्नका लागि प्याज उत्पादनमा विशेष ध्यान दिन आवश्यक छ । जसमा स्थानिय सरकारले नेतृत्वदायी भुमिका खेल्न जरुरी छ ।


















