धनगढी – वरिष्ठ चलचित्रकर्मी तथा खलनायक तेजा ऐरको अल्पायुमै निधन भएको छ । लामो समयदेखि मृगौला पीडित भइ उपचाररत वरिष्ठ कलाकार ऐरको ५५ वर्षको उमेरमा सनिबार आफ्नै निवास झलारी कञ्चनपुरमा निधन भएको हो । ऐरको आइतबार अन्त्यष्टि गरिएको छ ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले घाटमै पुगेर स्वर्गीय ऐरको पार्थिव शरीरमा रामनामी ओढाइ श्रद्धाञ्जली ब्यक्त गरेका छन् । उपकुलपति जोशीले वरिष्ठ कलाकार ऐरको निधनले सुदूरपश्चिमको कलाकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउदै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

स्वर्गीय ऐरको अन्त्यष्टिमा पूर्व सांसद् टेकेन्द्र भट्ट, राष्ट्रिय उदघोषक केपी कलौनी, वरिष्ठ शिक्षासेवी जगदीश भट्ट, सिद्धराज भट्ट, जगदीश सेठी, चलचित्र नन्दीका नायक बोगटानी किङ लगायत कलाकर्मी र आफन्तजनको उपस्थिति थियो ।
२०२५ सालमा डडेल्धूरा दुधकाँडेमा जन्मेका कलाकार ऐरले नेपाली, डोटेली, मैथिली, भोजपुरी, थारू र हिन्दी गरी झण्डै एकसय चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
















