खाेज्नुहाेस

सिन्की बोहरा दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न यातायात मजदुर सङ्गठनको माग

Image
अत्तरिया – नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले अत्तरियामा सिन्की बोहरा दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनले प्रतिनिधिसभाको बैठकमा सांसद ऐन महरले दिएको अभिव्यक्ति घटना सँग मेल नखाएको भन्दै दुर्घटनाको सिसिटिभी फुटेज, प्रहरी, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेको हो ।
attariya hospital
महासंघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठकमा महरले व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘घटनाको सत्य तथ्य र प्रमाणको यथोचित अध्ययन नगरी यातायात श्रमिकलाई अपराधी देखाउने गरी गरिमामय जनप्रतिनिधिमूलक संस्थामा अतिरञ्जित र तथ्यहीन अभिव्यक्ति दिनु अत्यन्त गम्भीर त्रुटि हो । सांसद महरले संसदमा बोल्दा ‘गाडी पछाडि फर्काएर’ घटनास्थलमै मृत्यु भएको भन्ने गलत अभिव्यक्ति दिनुभएको छ । तर, इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियामा सुरक्षित रहेको सिसिटिभी फुटेज र अन्य तथ्यहरूले अभिव्यक्तिसँग मेल खाँदैन । कसैको मौखिक दाबीका आधारमा घटनाको चित्र र चरित्र निर्धारण गर्नु न्यायोचित हुँदैन’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
navjiwan hospital
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा महरले संसदमा व्यक्त गर्नुभएको तथ्यहीन तथा यातायात श्रमिक माथिको मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक क्षमा याचना माग्नुपर्ने र पीडित परिवारलाई ऐन अनुसारको क्षतिपूर्ति सहितको न्याय र निर्दोष चालकलाई अन्याय नहोस् नगरियोस् भन्ने माग गरिएको छ ।
माग र ध्यानाकर्षणलाई बेवास्ता गर्दै तथ्यहीन अभिव्यक्तिबारे क्षमा याचना नगरिएमा देशभरका यातायात श्रमिकहरू आफूमाथि भएको अन्याय, अपमान र पूर्वाग्रहका विरुद्ध शान्तिपूर्ण रूपमा प्रतिवाद गर्न बाध्य विज्ञप्तिमा उल्लेख छ ।
आइतबार महेन्द्रनगरबाट यात्रु लिएर दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले बझाङ मस्टा घर भई हाल अत्तरिया बसोबास गर्दै आएकी ५३ वर्षीय सिन्की बोहरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि सोमबार संसदमा बोल्दै सांसद महरले सिन्की बोहरा बसको ठक्करबाट खसेपछि बस पछाडि गरेर मारिएको बताएका छन् ।  उनले भनेका थिए ‘बसले ठक्कर दिएर वहाँ लड्नुभयो । खुट्टा भाँचिएर घाइते हुनुभयो । त्यो गाडी पछाडि फर्कियो । पछाडि फर्केपछि घटनास्थलमै मृत्यु भयो ।’