धनगढी –सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड धनगढीले आयोजना गरेको ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बोल्दै मन्त्री बमले सहकारीले किसानका कृषि उपजको बजारीकरण गरेर अर्थतन्त्र बलियो बनाउन सहयोग गर्नुपर्ने बताएका हुन् ।

किसानका कृषि उपजलाई बजारसम्म पु-याउने माध्यम सहकारीले गरिदिनुपर्ने बताउँदै उनले भने, ‘किसानले राम्रो आम्दानी गरेमा उनीहरुले नै सहकारीमा लगानी लगाउन सक्छन् । जसले गर्दा किसानको अर्थ उपार्जनका साथै सहकारीको उद्देश्य पनि पूरा हुन्छ ।’ ऋण लिने सहकारीका सबै सदस्यले समयमै तिर्ने बानी बसाल्दा सहकारी सफल हुने भएकाले सहकारीलाई बद्नामित हुनबाट जोगाउन सबैले लाग्नुपर्ने उनले बताए ।

सहकारी नाफामुखी मात्रै नभई सेवामुखी पनि हुनुपर्ने उनले सहकारीका सञ्चालक तथा सदस्यलाई सम्बोधन गर्दै बताए ।


















