खाेज्नुहाेस

सुकेको वन, कुहिँदै धन

Image

अत्तरिया – ‘हरियो वन, नेपालको धन’ भन्ने नारा प्रचलित भए पनि वनहरूमा भने ‘सुकेको वन कुहिँदै धन’ भन्ने नारा लगाउनु पर्ने अवस्था छ । वर्षौँदेखि हरियो वन नेपालको धन भन्ने नारा सुनिँदै आएको भए पनि नारा र सरकारको नीतिमा तारतम्य नमिल्दा त्यसअनुसारको लाभ भने लिन सकिएको छैन । त्यसको एउटा ज्वलन्त उदाहरण हो अत्तरिया बजार सँग जोडिएको सुरक्षा सामुदायिक वन । यहाँ एक दशक अघि नै सुकेका रुख नकाटिँदा अहिले कुहिन थालेका छन् ।

यसअघि सुकुम्वासी बस्ती बसेको क्षेत्रका दर्जनौँ रुख सुकेर कुहिने अवस्थामा पुगेका भए पनि कटानको अनुमति नपाउँदा रुख कुहिन थालेका हुन । वनकी अध्यक्ष लक्ष्मी भण्डारीले सुकेका रुख कटानको लागि पटक–पटक वन कार्यालय देखि मन्त्रालय सम्म धाएको भए पनि अनुमति नपाएको बताइन् । ‘यी रुख कटानको लागि कति पटक काठमाण्डौं पनि फाइल बोकेर पुगे’ उनले भनिन् ‘पछि रुख कटानको आदेश दिने अधिकार प्रदेशमा आएपछि बर्सेनि अनुमति माग गरिरहेका हुन्छौ तर, अनुमति नै पाइएको छैन ।’ उनले यस वर्ष पनि रुख कटानको लागि फाइन तयार गरेर वन कार्यालयमा बुझाएको भए पनि अनुमति पाउने नपाउने टुङ्गो नभएको बताइन् ।

attariya hospital

सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कँडेलले सुरक्षा सामुदायिक वनमा मात्रै सुकेका १९७ रुखको लगत सङ्कलन गरिएको बताए । उनले सुका खडा रुखको लगत सङ्कलन गरिएको भए पनि कटान खुल्ने कि नखुल्ने निश्चित नभएको बताए । उनले सुका खडा रुख कटानको कार्यविधि सुदूरपश्चिम प्रदेश सभाबाट पारित भए मात्रै कटानको अनुमति आउने बताए । सुका खडा रुखको कार्यविधि नबने हालको कार्य योजना अनुसार ३ देखि ४ सय क्युसेक अर्थात् ५ देखि ६ रुख मात्रै काट्ने अनुमति आउन सक्ने उनले बताए ।

navjiwan hospital

उनले हाल कार्य योजना अनुसार तोकिएको मापदण्ड भित्र रहेर ढला पढा रुख कटानको काम भइरहेको भए पनि वन भित्रका सबै सुका खडा रुख भने लामो समय देखि कटान नभएको बताए । कटान आदेशको म्याद चैत मसान्त सम्म मात्रै हुने भएकाले यस वर्ष पनि रुख कटान हुने सम्भावना न्यून रहेको उनको भनाइ छ । सुरक्षा सामुदायिक वनमा रहेका अधिकांश रुख सालका रहेका छन् । जसको मूल्य करोडौँ पर्ने भए पनि कटानको टुङ्गा नलाग्दा रुख कुहिएर आर्थिक नोक्सानी भइरहेको छ । सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठले केही ऐन संशोधन प्रस्तावमा सुका खडा रुख कटानको प्रस्ताव संसद्मा गएको बताए । उनले ससंदबाट पास भएपछि सुका खडा रुख कटानको बाटो खुल्ने बताए ।

यसै वर्ष सुरक्षा सामुदायिक वन सँगै जोडिएको जित्तलपुर सुकुम्वासी बस्तीमा भने रुख कटान गरिएको थियो । उक्त बस्तीमा डिभिजन वन कार्यालयको जोखिमयुक्त रुखको व्यवस्थापन गर्न बनेको समितिको निर्णय अनुसार २६ वटा रुख काटिएका थिए । उक्त स्थानमा वन नियमावली २०७९ अनुसार जोखिमयुक्त रुखको व्यवस्थापनका लागि डिभिजन वन अधिकृतको संयोजकत्वमा वनेको समितिको निर्णय अनुसार रुख काटिएको थियो ।

बस्तीमा रहेका रुख काटिए पनि सुरक्षा सामुदायिक वन भित्र एक दशक अघि नै सुकेर हाल कुहिरहेका रुख भने काटिएका छैनन् । यसअघि सुकुम्वासी बस्ती बसेको क्षेत्रमा सबै रुख सुकेकाले सुकेको वनजस्तै देखिने गरेको छ । प्रदेश सरकारले रुख कटानका लागि कार्यविधि बनाउन ढिलाइ गर्दा प्रदेशभरिका वनहरूमा सुका खडा रुख काट्न सकिएको छैन । जसले गर्दा रुखहरू कुहिने अवस्थामा पुगेका छन् ।