अत्तरिया – नेकपा एमालेबाट पार्टीको साधारण सदस्यबाट समेत निष्कासित भएपछि माघ १७ गते मातृभूमि जागरण अभियानको घोषणा गरेका डा. भीम रावलले आगामी दिनमा कसरी अगाडि बढ्छन् भन्नेमा धेरैको चासो छ । ३ दशक राजनीति गरेको पार्टीबाट निष्कासित भए पनि रावलले नयाँ पार्टी खोल्ने बताउने गरेका भए पनि कहिले, कसरी पार्टी खोल्छन् भन्ने चासोको विषय बनेको छ । यस बिचमा जागरण अभियान लिएर सुदूरपश्चिमको गृह जिल्ला अछामको भ्रमण सकेर हाल धनगढीमा बसिरहेको रावलले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी खोल्ने आधार प्रकाश पारेका छन् ।
मातृभूमि जागरण अभियान अभियानमै सीमित रहन्छ या पार्टी खुल्छ भन्ने पत्रकारको प्रश्नमा रावलले पार्टी खोल्न नै अभियान सञ्चालन गरेको बताए । तर, उनले अन्य व्यक्तिको जसरी माथिबाट पार्टी गठन गरेर तल्लो तहमा आफ्ना बिचार पेल्ने काम नगरिने बताए ।

‘अहिले नै केन्द्रबाट पार्टी किन निर्माण नगरेको भन्ने प्रश्न उठ्न सक्छ । त्यो किन नगरेको भने अहिले थुप्रै सङ्गठित व्यक्तिहरू सँग मेरो वार्ता जारी छ । अन्य थुप्रै बुद्धिजीवी व्यक्तिहरू सँग पनि कुराकानी जारी राखेका छौ’ उनले भने ‘अब केही व्यक्तिहरू जम्मा भएर हाम्रो केन्द्रमा यस्तो पार्टी भयो फलानो यस्तो पदको भन्ने कुरा सङ्गठन निर्माणमा त्यो राम्रो कुरा हो जस्तो मलाई लाग्दैन । त्यो आफ्ना काम, बिचार अरूमाथि थोपर्ने किसिमको हुन्छ ।’
उनले अहिलेको अभियान सङ्गठन निर्माणकै लागि अगाडि बढेको बताए ।

‘यो अभियान भनेको मानिसहरूलाई भेला ग¥यो भाषण ग¥यो समाप्त भयो । त्यस्तो होइन । हामी जहाँ जहाँ गएका छौ त्यहाँ सङ्गठन निर्माण गर्दै गएका छौ’ उनले भने ‘प्रवासमा पनि अभियान लग्नुको अर्थ त्यहाँ पनि सङ्गठन निर्माण गर्नु हो । यो सङ्गठन निर्माण भोलिको राजनीतिक दलको आधार निर्माणको लागि नै हो ।’
उनले पार्टी घोषणा गर्दा तल्लो तहका पनि कुरा सुनिने बताए । ‘तल्लो तहमा सङ्गठन निर्माण गरेपछि केन्द्रमा थुप्रै मानिसहरू सँग कुराकानी हुन्छ । त्यो कुराकानीको माध्यमबाट देश भरी र प्रवासमा रहेका समेत रहेका मानिसका कुरा सुनेपछि सांगठिक केन्द्रीय स्वरूप दिन्छौ’ उनले भने ‘त्यो केन्द्रीय समिति उचित समयमा एउटा सशक्त राजनीतिक दलको रूप लिन्छ । यतीकै अभियान मात्रै होइन ।’
उनले पार्टीमा जुनसुकै दलबाट व्यक्ति आउन सक्ने भए पनि ३ वटा मापदण्ड तोकिएको बताए । ‘एक भ्रष्टाचारमा मुछिएका व्यक्तिहरू सँग कुनै पनि किसिमको सङ्गत नगर्ने, दुई नेपालको राष्ट्रिय हित विपरीतका क्रियाकलापमा संलग्न व्यक्तिसँग सहकार्य नगर्ने र तीन सामाजिक दृष्टिकोणबाट जनताको नजरमा गन्हाएका व्यक्तिलाई राजनीतिक नेतृत्वमा नल्याउने’ उनले भने ‘अन्य हाम्रो विचार सँग सहमत भएर आउने युवाहरूलाई पनि हामीले विचार परिवर्तन भएर आएको भन्ने हेक्का राख्नुपर्छ भन्ने लाग्छ ।’
उनले अहिलेका राजनीतिक दलका गतिविधिबाट जनता सन्तुष्ट नभएको बताए । उनले भने ‘अहिले राजनीतिक दलहरूले जे गरिरहेका छन् त्यो प्रति निस्सन्देह जनताको असन्तुष्टि छ ।’ उनले प्रारम्भिक चरणमै एमाले छोडेर धेरै मानिस मातृभूमि जागरण अभियानमा जोडिएको बताए । ‘अछाममा आरम्भिक चरणमा नै १५ सय जना नेकपा एमाले सँग सम्बन्ध मान्छेले पार्टी छोडिसकेका छन् ।
प्रदेश कमिटीका सदस्य, केन्द्रीय अनुशासन आयोगका सदस्यहरू, जिल्ला कमिटीका थुप्रै सदस्यहरू र त्यो भन्दा तलका पार्टीका सङ्गठित सदस्यले एमाले छोडिसकेका छन्’ उनले भने ‘कैलालीबाट पनि धेरैले एमाले छोडेका छन् । यो प्रक्रिया निरन्तर जारी छ । थप यो प्रक्रिया अरू जिल्लामा अघि बढ्ने नै छ ।’ उनले मातृभूमि जागरण अभियानमा देशको आजको बेथितिका विरुद्धमा उभिन चाहने सबैलाई सङ्गठित गरेर राजनीतिक दल निर्माण गर्ने आधार भएको बताए ।



















