खाेज्नुहाेस

गोदावरीमा अवैध उत्खनन गर्ने गाडीबाट साढे ४ लाख राजश्व सङ्कलन, १३ अझै फरार

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन (गाडी) लाई कारबाही गरेर ४ लाख ६५ हजार राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १७ सवारी साधनलाई कारबाही गरेर उक्त राजश्व सङ्कलन गरेको हो । जसमा टिप्पर ७ वटा, ट्याक्टर ८ वटा र ब्याक लोडर (एक्स्काभेटर) २ वटा रहेका छन् । गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले १६ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार जरिवाना गरेर कारबाही गरिएको बताए । जसअनुसार ब्याक लाडेरलाई ५० हजार, टिप्परलाई ३० हजार र ट्याक्टरलाई १५ हजारका दरले जरिवाना गराइएको छ ।

रातीको समयमा अवैध उत्खनन गरिरहेको एक ट्याक्टरलाई भने नगरपालिकाको नियम अनुसार ५० हजार जरिवाना गरी छोडिएको नगरपालिकाले जनाएको छ । कारबाही गरिएका मध्ये ५ सवारी साधन धनगढी उपमहानगरपालिकाका रहेका छन् । माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला परेका थिए । प्रशासकीय अधिकृत भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले १ लाख ९० हजार जरिवाना गराइएको बताए ।

attariya hospital
navjiwan hospital

१३ अझै फरार

जिल्ला समन्वय समितिको अनुगमन टोलीले माघ १७ गते गोदावरीबाट २९ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो । जसमा खुटिया नदीबाट २६ वटा र गोदावरी नदीबाट ३ सवारी साधन नियन्त्रणमा लिइएका थिए । ती सवारी साधन अनुगमन टोलीले नियन्त्रणमा लिएर गाडीको नम्बर टिपोट गरेको भए पनि इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याउने क्रममा खुटिया खोलाका १८ सवारी साधन बिच बाटोबाटै फरार भएका थिए । त्यस्तै गोदावरी नदीबाट पनि नियन्त्रणमा लिएका २ एक्स्काभेटर चालक फरार भएका थिए भने एक टिप्पर मात्रै प्रहरीको जिम्मा लगाइएको थियो । ती मध्ये १३ वटा अझै कारबाहीको दायरामा नआएको गोदावरी नगरपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समितिका सूचना अधिकारी विमल प्रकाश जोशीले समन्वयन समितिको टोलीले नियन्त्रणमा लिएका २९ वटै सवारी साधनको विवरण सहित कारबाहीको लागि गोदावरी नगरपालिकामा पत्र पठाइसकेको बताए । पत्रमा प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐन अनुसार कारबाही गर्न भनिएको उनले बताए । जसअनुसार ब्याक लोडर (एक्स्काभेटर) लाई ५०–५० हजार, टिप्परलाई ३०–३० हजार र ट्याक्टरलाई १५–१५ हजारका दरले जरिवाना तोकिएको छ ।

गोदावरी नगरपालिकाले हाल खुटिया, खैराना र गोदावरी नदीबाट नदीजन्य पदार्थको रोयल्टी सङ्कलन गर्ने गरी ठेक्कामा लगाएको छ । नदीजन्य पदार्थको उत्खननका लागि मापदण्ड बनाइएको भए पनि हाल मापदण्ड मिचेर उत्खनन गरिँदै आएको छ । मापदण्ड मिच्ने सवारी साधनलाई गिट्टी, ढुङ्गा, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ को दफा ९ अनुसारको गठन गरिएको जिल्ला अनुगमन समितिले कारबाहीको लागि सिफारिस गरेको हो ।