खाेज्नुहाेस

अत्तरिया चोकको स्वरूप फेरिँदै

Image

अत्तरिया – कैलालीको अत्तरिया चोकको स्वरूप फेरिन थालेको छ । गोदावरी नगरपालिकाले चोकलाई विगतको भन्दा फरक देखाउने किसिमले व्यवस्थित गर्न थालेपछि यसको स्वरूपले फरक रूप लिन थालेको हो । करिब अढाई वर्ष अघि नगरपालिकाले चोकको व्यवस्थापनका लागि चोकमा भएको बिल बोर्ड हटाउनुका साथै वाटरफाउन्टीङ बनाउने तथा हाईमास्ट लाइट लगाउने कार्य गरेको थियो । त्यति मात्रै नभई सुदूरपश्चिम प्रदेशका कला, संस्कृति तथा धार्मिक र पर्यटकीय क्षेत्रहरू दर्साउने खालका तस्बिरहरू देखिने डिस्प्ले बोर्ड पनि सो समयमा लगाइएको थियो । नगरपालिकाले करिब अढाई वर्ष पछि पुनः चोकको व्यवस्थापनका लागि कार्य गर्न लागेको हो ।

हाल चोकमा रहेको पार्क व्यवस्थापनको काम भइरहेको नगरपालिकाका सब इन्जिनियर शुभम् क्षेत्रीले जानकारी दिए । उनले नगरपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर चोकको पार्क व्यवस्थापन गर्ने कार्य गरिरहेको बताए । उनका अनुसार हाल उपभोक्ता समिति मार्फत उक्त कार्य भइरहेको छ । नगरपालिकाले १५ लाख रुपैयाँ नगरको र १० प्रतिशत उपभोक्ता समितिको श्रमदान रहने गरी सम्झौता गरेको सब इन्जिनियर क्षेत्रीले बताए ।

add everest academy
attariya hospital

उनका अनुसार सम्झौतामा तोकिएबमोजिम उपभोक्ता समितिले हाल रहेको घेरबारको उचाइ बढाउने, नयाँ गेट हाल्ने, रंगरोगन गर्ने लगायतका कार्य गर्नुपर्नेछ । त्यति मात्रै नभई चोकको भित्री भागको वरपर १।५ फिट इट्टाको चिनाई गर्ने, चोकभित्र जाने पैदल बाटोमा सोलिङ तथा पिपिसी गर्ने र ४० वटा गार्डेन लाइटहरू लगाउने समेत सम्झौता भएको सब इन्जिनियर क्षेत्रीले बताए ।

navjiwan hospital

उक्त पार्कमा यसअघि ८ वटा लाइटहरू रहेका थिए भने भित्र जानका लागि एउटा मात्रै गेट रहेको थियो । तर अब चोकको शोभा बढाउने गरी ४० वटा गार्डेन लाइटहरू लगाउन लागिएको सब इन्जिनियर क्षेत्रीले बताए । त्यसका साथै चोकभित्र जानका लागि ४ पुरानो सहित ४ वटा स्थानमा गेट निर्माण भइरहेको समेत उनले बताए । उनका अनुसार नगरपालिकाले उपभोक्ता समितिसँग पुस १८ गतेदेखि काम गर्ने गरी सम्झौता गरेको छ भने सो कार्य आगामी वर्ष जेठ ३२ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

नगरपालिकाले ६ लेन सडकमा पनि तार जाली लगाउने कार्य सुरु गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेको ६ लेन सडकको डिभाइडरमा तारजाली लगाउन थालेको हो । उक्त कार्यका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएर काम सुरु भैसकेको सब इन्जिनियर क्षेत्रीले बताए । ६ लेन सडकको डिभाइडरमा तार जाली लगाउनका लागि अत्तरियाकै सुयल कन्स्ट्रक्सन प्रा।लि। ले ठेक्का लिएर काम गरिरहेको छ । अत्तरिया देखी धनगढीको सिमानासम्म ५ किलोमिटर डिभाइडर क्षेत्रमा तार जाली लगाइने उनले बताए ।

attariya technical collage

उनले उक्त कार्यका लागि ठेकेदार कम्पनीसँग यही मंसिर २५ गते ठेक्का सम्झौता भएको बताए । उनका अनुसार उक्त कार्य सम्पन्न गर्नका लागि भने केही दिन मात्रै समयावधि बाँकी रहेको छ । सम्झौता अनुसार ठेकेदार कम्पनीले ६ लेन सडकको डिभाइडरका दुवै साइडतिर तार जाली लगाउने अन्तिम मिति माघ २५ गतेसम्म मात्रै हो ।

ठेकेदार नैन सिँ कार्कीले सम्झौता अवधिमै कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको बताएका छन् । तथापि छोटो समय दिइएकाले केही दिन थप लाग्न सक्ने उनको भनाई छ । ‘ठेक्का भरसकेपछि चिसोका कारण काम हुन सकेन, काम सुरु भएको बल्ल २०/२२ दिन भएको छ’ उनले भने ‘सकिन्छ भने सम्झौता अनुसारकै समयमा काम सक्ने गरी लागेका छौ, नभए केही दिन समय थप्नुपर्ला ।’ नगरपालिकाले सो कार्यका लागि भ्याटसहित ८० लाख २३ हजार ४७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

त्यसो त नगरपालिकाले उक्त कार्यका लागि १ करोड १८ लाख ४६ हजार ३५४ रुपैयाँ तोकेको थियो । तर टेन्डर प्रक्रियामा विड घटाघटका आधारमा सुयल कन्स्ट्रक्सनले उक्त रकममा काम सक्ने गरी सम्झौता गरेको हो ।