बझाङ– बझाङस्थित सेती नदीमा हाम फालेकी महिलाको शव फेला परेको छ । बिहिबार बिहान जिल्लाको थलारा गाउँपालिका–४ डिख्लाका राजेश साउँदकी २७ वर्षिया श्रीमती धर्मा साउँदले सेती नदीमा हाम फालेकी थिईन । जिल्लाकै केदारस्यूँ गाउँपालिका– ९ झोताबाट थलारा जोड्ने सेतीको झोलुंगे पुलबाट हाम फालेकी उनको दिउँसो १ बजे शव भेटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउँदको शव हाम फालेको ठाउँबाट २ किलोमिटर तल सेती नदिको पानीमा डुबेको अवस्थामा फेला परेको थियो । उनले नदिमा हाम फाल्नुको कारण खुलेको छैन । तर उनको केही दिनदेखि मानसिक अवस्था ठिक नभएको थलारा गाउँपालिका– ४ का वडाध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।

केही दिनयता साउँदमा आफै एक्लै हास्ने जस्ता विभिन्न लक्षण देखा परेको वडाध्यक्ष जोशीले बताए । बिहीबार बिहानै घरबाट उठेर निस्किएकी मृतक साउँदका पछाडी घरका सदस्य आएको भएपनि छोप्न नसकेको र यो घटना घटेको अध्यक्ष जोशीको भनाई छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ ।

















