अत्तरिया – सुदूरपश्चिम प्रदेशसभा सदस्य रामेश्वर चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को मनोपोली (एकाधिकार) ले गर्दा दूध बाहिरी प्रदेशमा गइरहेको बताएका छन् । आइतबार प्रदेश सभा बैठकमा आफ्ना धारणा राख्दै उनले डीडीसीको मनोपोलीले दूध अन्य प्रदेशमा गइरहेको बताएका हुन् ।
पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका उनले यस प्रदेशमा मिल्क पाउडर प्लान्ट स्थापना गर्नको लागि संघ सरकारबाट ४९ करोडको बजेट आए पनि कार्यान्वयनमा प्रश्न चिन्ह रहेको बताए ।


‘गत वर्ष हामीले यहाँ मिल्क पाउडर प्लान्ट ल्याएका छौ । अहिले पनि त्यो मिल्क पाउडर प्लान्टमा प्रश्न चिन्ह आएको छ’ उनले भने ‘गत वर्ष हामीले ४७ करोडको मिल्क पाउडर प्लान्ट र वधशालाको लागि बजेट माग गरेका थियौ । त्यसमा १२ करोड आएको छ । मलाई त शङ्कै छ । त्यो मिल्क पाउडर प्लान्ट पनि फ्रिज हुने हो की ?’
उनले दूधमा सुदूरपश्चिम प्रदेश आत्मनिर्भर भए पनि डीडीसीको मनोपोलीले दूध बाहिरी प्रदेशमा गइरहेकोले यहाँ मिल्क पाउडर उत्पादन गर्न योजना अघि सारिएको बताए । उनले वधशाला पनि यही बनाउने सके चाइना, भियतनाममा मासु पनि निर्यात गर्न सकिने बताए ।
मिल्क प्लान्ट अत्तरियामा निर्माण गर्नको लागि कृषि उपज थोक बजार समितिले पनि जग्गा खोजीको प्रक्रिया अगाडि बढाएको भए पनि जग्गा नपाउँदा प्रक्रिया रोकिएको थियो । कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्द लाल भट्टले अत्तरियामा रहेको डीडीसी सँगै मिल्क प्लान्ट निर्माणका लागि जग्गा खोजी गरिरहेको बताए ।















