अत्तरिया – होटल व्यवसायी बालकृष्ण सापकोटा पछिल्लो समय अचारको बाण्डिङमा जुटेका छन् । चुरे गाउँपालिका – ५ खानीडाँडामा रहेको उनको होटलमा आजभोलि होटलका सामान भन्दा बढी अचारका डिब्बा राखिएका छन् । होटल व्यवसाय सुस्ताए सँगै अचार व्यवसायमा जुटेका उनले अहिले ‘खानीडाँडा’ ब्रान्डको अचार उत्पादन गरिरहेका छन् । जस अन्तरगत उनले डल्ले खुर्सानी, लसुन, तामा, अमला, आम, मिक्स, अम्बा, कोइराल, मुला, गाजर, लप्सी लगायतका अचार बनाउने गरेका छन् ।
व्यवसायीक रूपमै अचार उत्पादन गरिरहेका उनले स्थानीय स्तरमै उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरेर अचार बनाउने गरेको बताए । ‘स्थानीय स्तरमै पाइने कच्चा पदार्थको ब्राण्डिङ गरेर अचार उत्पादन गरिरहेको छु’ उनले भने ‘स्थानीय उत्पादनलाई कलेक्सन गरेर केही चिजलाई प्रशोधन गरेर, केही चिजलाई ग्रेडिङ गरेर ब्राण्डिङ गर्ने मेरो उद्देश्य अनुसार मैले यो उद्योग सञ्चालनमा ल्याएको छु ।’

उनले खाद्य गुणस्तरको मापदण्ड अपनाएर आफूले उत्पादन गरिरहेको बताए । उनले हाल फाइदा धेरै लिने भन्दा पनि ब्राण्डिङमा बढी जोड दिएको बताए । उनले घुम्न आउनेहरूले पसलबाटै अचार लग्ने गरेको बताए । ‘विगत ५/६ वर्षदेखि प्रयत्न गरिरहेको भए पनि पछिल्लो पटक विभिन्न संघसस्थाहरुले सहयोग गरेपछि यसमा अझै सहज भएको छ’ उनले भने ‘निड्स नामक संस्थाले अचार बनाउने तालिम दिएपछि यसलाई व्यवसायीक रूपमा अगाडि बढाएको थिए । संस्थाबाट समूहलाई मिक्सर, पावरगन लगायतका सामाग्री पनि सहयोग गरिएको छ ।’ उनले वार्षिक रूपमा १५ लाखको अचार लगायत स्थानीय बस्तु मह, टिमुर, दाल, गेडागुडीको कारोबार गर्ने गरेको बताए ।

सापकोटा जस्तै हाल खानीडाँडाका ११ जना अचार उत्पादक व्यवसायी मिलेर खानीडाँडा अचार तथा बहु उद्यमी समूह गठन गरेका छन् । समूहको अध्यक्ष समेत रहेका सापकोटाले हाल ९ जनाले अचार उत्पादन गरिरहेको बताए । समूहमा आबद्ध दीपक राज सापकोटा पनि ‘चुरे’ नामको ब्राण्डिङ गरेर अचार उत्पादन गरिरहेको छन् । होटल सँगै विगत २ वर्षदेखि अचार उत्पादन गरिरहेका उनले विगत ५/६ महिना देखि ‘चुरे’ ब्रान्डको अचार उत्पादन गरिरहेको बताए ।
उनले पछिल्लो समय बजारको समस्या भए पनि स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर चुरे ब्राण्डका अचार उत्पादन गरिरहेको बताए । ‘स्थानीय डल्ले खुर्सानी, लसुन, अमला, आँप, मुलामा लोकल मसला र तेल प्रयोग गरेर अचार उत्पादन गरिरहेका छौ’ उनले भने ‘सबै सामान चुरेकै प्रयोग गरिएको छ ।’
लाली अचार उद्योगका सञ्चालक टीकाराम जैसीले पनि व्यवसायीक रूपमा अचारको उत्पादनमा सुरु गरेको बताए । उनले व्यवस्थित तरिकाले अचार उद्योग सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको बताए । उनले पनि होटल व्यवसाय सँगै अचार उत्पादन गर्दै आएका छन् । उनले पनि चुरेमै पाइने सामग्री प्रयोग गरेर अचार उत्पादन गरिएको बताए । उनले अचारका लागि एक महिनाको अचार तालिम लिएको बताए ।
पछिल्लो समय खानीडाँडामा धेरै होटल व्यवसायीहरूले अचारको उत्पादन गर्दै आएका छन् । जसको मुख्य ग्राहकको रूपमा तराइका जिल्लाबाट खानीडाँडा घुम्न जाने स्थानीय पर्यटकहरू रहेका छन् । खानीडाँडा अचार तथा बहु उद्यमी समूहका अध्यक्ष सापकोटाले पछिल्लो समय खानीडाँडामा उत्पादन हुने अचारलाई तराइका जिल्लामा रहेको बजारमा पनि पठाउने तयारी गरिरहेको बताए । उनले खानीडाँडामा उत्पादन हुने लोकल मह, भासुको टिमुर, दाल, गेडागुडीको पनि ब्राण्डिङ गर्न सके राम्रो सम्भावना रहेको बताए ।


















