अत्तरिया– एउटा विद्यार्थीले शनिवार बाहेक प्रत्येक दिन कापी किताबले भरिएको झोला बोकेर विद्यालय जानुपर्छ । नेपालको शिक्षा प्रणालीमा यो नै विद्यालय शिक्षाको नियम हो । झोला भरी शैक्षिक सामग्री बोकेर विद्यालय जाने शिक्षकहरूले अध्यापन गराएका कुराहरू सिक्ने, घोक्ने वा लेख्ने मात्रै विद्यार्थीहरूको दैनिकी हुने गर्दछ ।


अब भने त्यसमा परिवर्तन हुँदै गइरहेको छ । हप्तामा एक दिन भए पनि विद्यार्थीहरूलाई कापी किताब विना विद्यालयमा पठाउने कार्यको थालनी गरिएको छ ।

कैलालीको गोदावरी नगरपालिकाको एउटा विद्यालयले शुक्रवार विद्यार्थीहरूलाई शैक्षिक सामग्री बिनै विद्यालयमा आउनुपर्ने नियम बनाएको छ । चालु शैक्षिक सत्रमा वडा नम्बर १० मा रहेको जानकी माध्यमिक विद्यालयले शुक्रवार विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप मात्रै गराउने उद्देश्यले बुक फ्री फ्राईडे लागु गरेको हो ।
सामान्यतया शुक्रवार चार विषय पढाइ गरेर कतिपय विद्यालयहरूले अतिरिक्त क्रियाकलाप गर्ने गर्दछन् भने कतिपयले विद्यार्थीहरूलाई घर पठाउने गर्दछन् ।
तर, अब शुक्रवार किताबी ज्ञान नभई विद्यार्थीहरूमा रहेका अन्तर्निहित प्रतिभाहरू उजागर गर्ने उद्देश्यले बुक फ्री फ्राईडे लागु गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्कीले जानकारी दिए । उनले विद्यालयमा पढाइका साथसाथै विद्यार्थीहरूको रुचि चाहना अनुसारको विधा अध्ययन गराउने गरी बुक फ्री फ्राईडे लागु गरिएको बताए । जसका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको उनको भनाई छ ।
‘विद्यालयमा पढाइका साथसाथै विद्यार्थीका अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गर्नका लागि, उसको इच्छा, रुचि, चाहना अनुसारको विधा पहिचान गर्नका लागि वडा कार्यालयले कार्यक्रम बनाएको थियो, जसको नाम बुक फ्री फ्राईडे हो’ उनले भने ‘त्यसमा विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापहरू हाजिर जवाफ, वक्तृत्वकला, वादविवाद, साङ्गीतिक कार्यक्रम, उद्घोषण कार्यक्रम लगायत अन्य विभिन्न रहनेछन् ।’ विद्यार्थीहरूभित्रका प्रतिभाहरूलाई उजागर गरी त्यसको विकास गरेर विद्यार्थीहरूलाई बहुआयामीक बनाउने कार्यक्रमको लक्ष्य रहेको उनको भनाई छ ।

उनले उक्त कार्यक्रममा विद्यार्थीहरूलाई कुनै पनि शैक्षिक सामग्री बिनै विद्यालयमा उपस्थित गराएर उनको प्रतिभाको पहिचान गर्ने काम गरिने बताए । उनका अनुसार बुक फ्री फ्राईडेमा हाल विद्यालयले जनचेतनामूलक कार्यक्रम, हस्तलेखन सुधार, सडक नाटक, साङ्गीतिक क्षेत्र लगायतका कुराहरू गर्नेछ । प्रत्येक शुक्रवार फरक फरक विधामा कार्यक्रम गरिने प्रधानाध्यापक पार्कीले बताए ।
वडाध्यक्ष रवीन्द्र शाही गुड्डुले शुक्रवार विद्यार्थीहरूलाई शैक्षिक कुराभन्दा बाहिरी ज्ञान दिने उद्देश्यले विद्यालयमा बुक फ्री फ्राईडे लागु गरिएको बताए । उनले उक्त कार्यक्रमका लागि वडाबाट चालु आर्थिक वर्षमा ३ लाख रुपैयाँ विनियोजित गरिएको बताए । ‘शिक्षाका कुराहरू त वर्ष भरी नै हुन्छन्, शुक्रवार कम्तीमा टेक्निकल कुराहरू, स्वास्थ्यका कुराहरू, हाम्रा संस्कार संस्कृति तथा भेषभुषाका कुराहरू लगायतका विषयमा पनि विद्यार्थीहरूले सिक्ने मौका पाउन भन्ने हाम्रो उद्देश्य हो’ उनले भने ‘विद्यार्थीहरू कसैले खेलकुदमा बढी रुचि राख्छ होला, कसैले इलेक्ट्रिक क्षेत्रमा रुचि राख्न सक्छ । यस्ता विभिन्न विषयहरूमा विद्यार्थीका इच्छाहरूलाई बाहिर ल्याएर सो अनुसार उनीहरूलाई दक्ष बनाउने सोचका साथ यो कार्यक्रम लागु गर्न लागेका हौ ।’
उनले विद्यालयक्षेत्र देखी नै विद्यार्थीभित्रका प्रतिभाहरूलाई बाहिर ल्याउने काम बुक फ्री फ्राईडेले गर्ने बताए । ‘भविष्यमा सबै एउटै क्षेत्रमा जाने हैनन् कसैले केही सोच राख्छ होला, कसैले केही ।
तर उनीहरूले यहाँको शैक्षिक प्रणालीका कारण अहिले त्यो कुरा भन्न पाउँदैन’ अध्यक्ष शाहीले भने ‘तर बुक फ्री फ्राईडे ले विद्यार्थीले भविष्यमा जे बन्न चाहन्छ, जसमा विद्यार्थीले बढी मेहनत गर्छ, त्यसलाई अहिले देखी नै त्यतातिर अग्रसर गराउने काम गर्नेछ ।’
उनले विद्यार्थीहरूले अहिले देखी नै भोलीको बाटो तय गर्ने आधारका रूपमा बुक फ्री फ्राईडेलाई लिइएको बताए । उनले विद्यालयमा उक्त कार्यक्रमका लागि वडाबाट ३ लाख रुपैयाँ विनियोजित गरिएको बताए । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमको प्रभाव हेरेर आगामी वर्ष बजेट विनियोजित गरिने उनको भनाई छ ।
शुक्रवार विद्यालयले उक्त कार्यक्रमको समुद्घाटन गरेको छ । चालु शैक्षिक सत्रमा आगामी शुक्रवार नियमित रूपमा उक्त कार्यक्रम लागु हुने बताइएको छ ।

















