अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ विजयनगरका पूर्व सई नारायण बहादुर चन्द नेपाल प्रहरीबाट अवकाश पाएपछि कृषिमा होमिएका छन् । ५५ वर्षका चन्दले डेढ बिगाहा जग्गा भाडामा लिएर विगत ७ वर्षदेखि गोदावरी – ४ बास्कोटामा कृषि कर्म गर्दै आएका छन् ।
माछा पालन सँगै केही बाख्रा र बाँकी जग्गामा धान, गहुँको खेती गर्दै आएका उनले कृषिमा सोचेजस्तो सहज भने नभएको दुखेसो पोखे । उनले अवकाश पाउँदा पाएको रकम कृषिमा लगाएर व्यवसाय सुरु गरेको भए पनि त्यो रकम अपुग भएपछि थप रकम जुटाउन निकै सकस परेको बताए । ‘व्यवसायीक रूपमा कृषि गर्ने भनेर जग्गा भाडामा लिएर काम सुरु गरेको थिए’ उनले भने ‘माछा पालन सँगै, बंगुर, बाख्रा, तरकारी खेती गर्ने योजना रहेको थियो । तर, पुँजीको अभाव हुँदा अहिले माछा पालन बाहेक अन्य काम गर्न समस्या भएको छ ।’

उनले आफ्नै देशको माटो सुहाउँदो व्यवसाय गर्ने सोचका साथ कृषिमा लागेको भए पनि सफल हुन निकै चुनौती रहेको बताए । उनले सानो लगानीबाट पनि कृषिमा काम गर्न सकिने सोच राखेको भए पनि कृषिमा त्यस्तो अवस्था नभएको बताए । ‘सानो पुजिबाट पनि कृषि गर्न सकिन्छ भन्ने सोच थियो । तर, कृषिमा थोरै लगानी लगाएर खासै नाफा लिन नसकिने रहेछ’ उनले भने ‘अहिले नै सोचे अनुसारको उपलब्धि नभए पनि आशा मरेको छैन ।’
उनले आफ्नो कृषि गर्ने योजनामा सरकारले पनि साथ दिने अपेक्षा लिएको बताए । ‘अहिले सहयोग भन्दा पनि मल, बीउ पाउनै मुस्किल छ’ उनले भने ‘कृषि फर्म दर्ता गरेर सञ्चालन गरेको भए पनि राज्यबाट अहिले सम्म केही सुविधा पाइएको छैन । सरकारले यो देशका किसानहरूलाई उनीहरूको आवश्यकता अनुसार केही सहयोग गरिदिएको भए, प्रोत्साहन दिएको भए सहज हुने थियो ।’ उनले जागिरबाट अवकाश लिएको भए पनि यो देशको माटोको लागि केही गर्ने सोच भएकाहरूको लागि पनि सरकारले सोच्नुपर्ने बताए ।

प्रहरी जवान देखि नेपाल प्रहरीमा प्रदेश गरेका उनले ३० वर्ष देशको सेवा गरेको बताए । ‘सेवा अवधिमा देशका कुना, कप्चामा पुग्दा जहाँ पनि कृषि गरेको देखेर मलाई पनि रिटायर भएपछि कृषि गर्ने सोच थियो’ उनले भने ‘आफै उत्पादन गरेर आफू पनि खाने, व्यावसायिक रूपमा उत्पादन गरेर देशका लागि सेवा गर्ने सोचले कृषिमा आएको थिए ।’
उनले हालसम्म कृषिमा ३० लाख भन्दा बढी लगानी गरिसकेको भए पनि सोचेअनुसार मुनाफा नभएको बताए । एकमुस्ट ५० लाख सम्म लगानी लगाएर व्यवस्थित माछा पालन सँगै, बंगुर, बाख्रा पालन गर्ने सोच हो’ उनले भने ‘अहिले लगानी जुटाउन सके राम्रो गर्ने सोच छ । पुँजी पाउन सकेको छैन ।’
उनले कतैबाट सहयोग नपाएको बताउँदै तालिम पनि नलिएकाले आफ्नै बलबुतामा काम गर्दै आएको बताए । उनले कहीँबाट तालिम र सहयोग पाए विस्तृत रूपमा माछा पालन सँगै बंगुर पालन, बाख्रा पालन गर्ने योजना रहेको सुनाए ।
भिडियो


















