अत्तरिया – दैलेखका जनप्रतिनिधिले कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजारको अवलोकन गरेका छन् । दैलेखमा निर्माण गरिएको कृषि हाट बजार सञ्चालनको लागि बजारको अध्ययन गर्न जनप्रतिनिधि, किसान, सहकारी प्रतिनिधिको टोलीले कृषि हाट बजारको अवलोकन गरेको हो ।
दैलेखको नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले जीआईजेड र ग्रेप परियोजनाको कार्यक्रम अन्तरगत चार पालिकाका जनप्रतिनिधिले बजारको अध्ययन गरिरहेको बताए । उनले अत्तरियाको हाट बजार सँगै सल्यानको कपुरकोट कृषि हाटबजार, बुटवलको कृषि हाटबजारको अध्ययन गर्ने बताए ।


‘हामी विशेष गरेर कृषि बजारको पाटोको अध्ययन गर्ने छौ’ उनले भने ‘हामीले अहिले दैलेख जिल्लाको सदरमुकाममा कृषि हाटबजारको सञ्चालन गर्ने योजना बनाएको छौ । हामीले दैलेखका धेरै ठाउँमा कोल्ड स्टोर पनि निर्माण गरेका छौ ।
हामीले निर्माण गरेका जस्ता हाट बजार, कृषि उपज, कोल्ड स्टोरको अवलोकन अध्ययन गर्न, यस्ता संरचना सञ्चालनका लागि कस्ता–कस्ता मेकानिजम बनाइएका छन् । कस्ता कमिटी बनाइएका छन् भन्ने बारेमा हामीले अध्ययन गरिरहेका छौ ।’ उनले कृषि बजारको क्षेत्रमा सहकारीको भूमिकाका बारेमा पनि अध्ययन गरिरहेको बताए ।
अवलोकन टोलीमा नारायण नगरपालिकाका जनप्रतिनिधि सँगै, दुल्लु नगरपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । टोलीमा कृषि समिति, हाटबजार समिति, सहकारीका अध्यक्ष, कृषि ज्ञान केन्द्र दैलेख र पालिकाका कृषि शाखाका प्रमुख रहेका छन् ।
अवलोकन भ्रमण टोलीलाई कृषि उपज थोक बजार अत्तरियाका अध्यक्ष नन्द लाल भट्टले बजारका बारेका जानकारी गराएका थिए ।
















